३ महिना यताकै ग्यास आयात उच्च, तर अभाव भने कायमै

भन्सार विभागको तथ्याङ्कअनुसार अनुसार फागुन महिनामा मात्रै ५१ हजार १९२ टन ग्यास आयात भएको छ, जुन पछिल्ला तीन महिनाकै उच्च हो ।

काठमाडौं । पछिल्लो समय बजारमा ग्यास अभावको गुनासो बढिरहेका बेला फागुन महिनामा भने ग्यास आयात उल्लेखनीय रूपमा बढेको तथ्यांकले देखाएको छ । माग उच्च रहे पनि आपूर्ति व्यवस्थापनमा समस्या देखिँदा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । भन्सार विभागको तथ्याङ्कअनुसार अनुसार फागुन महिनामा मात्रै ५१ हजार १९२ टन ग्यास आयात भएको छ, जुन पछिल्ला तीन महिनाकै उच्च हो । यसअघि पुषमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास आयात भएको थियो । यसले मागअनुसार आपूर्ति बढाउने प्रयास भएको संकेत गरे पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको छैन ।

सामान्यतया जाडो महिनामा ग्यासको खपत बढ्ने भए पनि यस वर्ष पुष र माघमा अपेक्षाकृत कम आयात भएको देखिन्छ । यसबीच खाडी क्षेत्रमा जारी तनावले आपूर्ति शृंखलामा असर पारेको र त्यसकै प्रभाव बजारमा परेको बताइएको छ । उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो व्यापक भएपछि निगमले फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरण नीति लागू गरेको छ । तर, यो कदमले पनि उपभोक्ताको समस्या पूर्ण रूपमा समाधान गर्न सकेको छैन ।

तथ्यांकअनुसार गत वर्षको फागुनको तुलनामा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा १० हजार १८७ टनले बढी हो । 

यसले स्पष्ट पार्छ कि कुल आयात बढ्दो क्रममा रहे पनि वितरण प्रणाली र आपूर्ति व्यवस्थापन कमजोर हुँदा बजारमा अभावको अनुभूति भइरहेको छ ।