लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत र चीन

सन् २०२० मा कोभिड–१९ महामारीका कारण बन्द भएको यो व्यापारिक मार्ग ६ वर्षपछि पुनः सञ्चालनमा आउन लागेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिय ले जनाएको छ । व्यापारिक अवधि जुनदेखि सेप्टेम्बरसम्म रहने अपेक्षा गरिएको छ ।

काठमाडौं । नेपालको भू-भाग लिपुलेक हुँदै भारत र चीनले सीमा व्यापार पुन: सुरु गर्ने भएका छन् । सन् २०२० मा कोभिड–१९ महामारीका कारण बन्द भएको यो व्यापारिक मार्ग ६ वर्षपछि पुनः सञ्चालनमा आउन लागेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिय ले जनाएको छ ।  व्यापारिक अवधि जुनदेखि सेप्टेम्बरसम्म रहने अपेक्षा गरिएको छ, जसलाई मौसमको अवस्था हेरेर थप विस्तार गर्न सकिने बताइएको छ ।

पिथौरागढका जिल्ला अधिकारी आशिष भट्टगाईका अनुसार, संघीय सरकारको निर्देशन प्राप्त भएलगत्तै जिल्ला प्रशासनले व्यापार सत्रको तयारीलाई तीव्रता दिएको छ । भारतीय विदेश मन्त्रालयले यसअघि नै ‘एनओसी’ जारी गरिसकेको छ । यस सम्बन्धमा भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई औपचारिक पत्र लेख्दै व्यापार पुनः सुरु गर्न आवश्यक पूर्वाधार र समन्वय मिलाउन आग्रह गरेका छन्। पत्रमा गृह मन्त्रालय र वाणिज्य तथा उद्योग मन्त्रालयले पनि व्यापार सुचारु गर्न आवश्यक स्वीकृति दिइसकेको उल्लेख गरिएको छ ।

अहिले भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको विरोध गरेको थियो । नेपालले सन् २०२० मा आफ्नो संविधान संशोधन गरेरै लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा (चुच्चे नक्सा) जारी गरेको थियो । नेपालको संसद्ले सर्वसम्मत पारित गरेको उक्त नक्साका आधारमा यो क्षेत्र नेपालको सार्वभौम भूभाग हो । नेपालले यसअघि नै लिपुलेक क्षेत्रको कुनै पनि प्रयोग वा सम्झौतामा नेपालको अनिवार्य सहमति हुनुपर्छ भन्ने स्पष्ट पारिसकेको छ तर चीन र भारतले बेवास्ता गर्दै आएका छन् ।