मध्यपूर्व द्वन्द्वको असर : कच्चा पदार्थ अभावले एचडीपी पाइप उद्योग संकटमा, मूल्य ६२% बढ्यो
संघले भनेको छ, “प्रतिस्पर्धात्मक बजारमा मूल्य माग र आपूर्तिले निर्धारण गर्छ। हालको कच्चा पदार्थको मूल्य करिब ६२ प्रतिशतले वृद्धि भएको छ । इन्धन र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिले ढुवानी लागतमा थप भार परेको छ ।
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कच्चा तेलसँगै प्लास्टिकजन्य कच्चा पदार्थको आपूर्ति प्रभावित हुँदा स्वदेशी उद्योग गम्भीर संकटमा परेका छन् । विशेषगरी हाई डेन्सिटी पोलिथिन (एचडीपी) पाइप उत्पादन गर्ने उद्योगहरू कच्चा पदार्थको अभावले प्रत्यक्ष मारमा परेका छन् । कच्चा पदार्थ नभएपछि केही पाइप उद्योग बन्द भएका छन् । हाइडेन्सिटी पोलिथिन पाइप म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै उद्योगका समस्याबारे अवगत गराएको छ ।
संघले भनेको छ, “प्रतिस्पर्धात्मक बजारमा मूल्य माग र आपूर्तिले निर्धारण गर्छ। हालको कच्चा पदार्थको मूल्य करिब ६२ प्रतिशतले वृद्धि भएको छ । इन्धन र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिले ढुवानी लागतमा थप भार परेको छ । जबसम्म मध्यपूर्वको तनाव समाधान हुँदैन र पर्याप्त कच्चा पदार्थ सहज रूपमा उपलब्ध हुँदैन, मूल्यवृद्धि सीमित गर्ने सम्भव छैन ।”
साथै बैंक तथा वित्तीय संस्थालाई समेत फाइनान्सिङ सहजता प्रदान गर्न आग्रह गरिएको छ । त्यस्तै संघले उद्योगलाई नआत्तिन र धैर्यता राख्न आग्रह गरेकोछ । ‘पाइप उत्पादन तथा वितरणमा वर्षौंदेखि संलग्न व्यवसायीलाई यस विषम परिस्थितिमा सुझबुझ र धैर्यता अपनाई कार्य गर्नु हुन समेत अपिल गर्दछौं’ संघले भनेको छ । जटिल परिस्थितिको फाइदा उठाई पाइपको अस्वभाभिक मुल्यवृद्धिमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कारवाही गर्न एसोसिएसनले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।