मेरो किसानले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

मेरो किसानले किसानसँगको सहकार्यमा बिउबिजन उत्पादन, कृषि उत्पादन संकलन, भण्डारण, वितरण तथा डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्म कृषि उत्पादन उपलब्ध गराउने कार्य गर्दै आएको छ ।

काठमाडौं । मेरो किसान लिमिटेडले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रयोजनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनीबीच सोमबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मेरो किसानका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा र सन्तोष बस्तेत तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख सुदिपहरि ढुंगाना सहभागि थिए ।

मेरो किसानले किसानसँगको सहकार्यमा बिउबिजन उत्पादन, कृषि उत्पादन संकलन, भण्डारण, वितरण तथा डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्म कृषि उत्पादन उपलब्ध गराउने कार्य गर्दै आएको छ । कम्पनीले चितवनको पटिहानीमा कृषि प्रशोधन केन्द्र र दूध डेरी सञ्चालन गर्ने उद्देश्यले करिब साढे ३ बिगा जग्गा खरिद गरी संरचना निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

चालु आर्थिक वर्षभित्र कृषि प्रशोधन केन्द्र पूर्णरुपमा सञ्चालन गर्ने र अर्को आर्थिक वर्षको पहिलो त्रैमाससम्म दूध डेरी सञ्चालन गर्ने लक्ष्य कम्पनीले राखेको छ ।