नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग अदालतले माग्यो ५ लाख रुपैयाँ धरौटी

विशेष अदालतले अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो ।

काठमाडौं । विशेष अदालतले अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले उनीसँग पाँच लाख धरौटी मागेको हो । अख्तियारमा र विशेष अदालतमा आरोपका बारेमा इन्कारी बयान गरेको भन्दै विशेष अदालतले उनीसँग धरौटी मागेको हो । चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो । गत २८ मंसीरमा उनीमाथि मुद्दा दायर भएको थियो । उनी संसद्‌का अर्थ समितिका निवर्तमान सभापति समेत हुन् ।

अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी आर्जन गरेको अभियोग लगाएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ । आठ करोड ५६ लाख रुपैंयाको सम्पत्ति जोडेका उनले चार करोड ८८ लाख रुपैंया मात्रै बैध रुपमा आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ । अख्तियारको दाबी अनुसार, उनले ३ करोड ६८ लाख रुपैंया गैरकानुनी आर्जन गरेका थिए, अख्तियारले त्यसैलाई बिगो कायम गरेको थियो ।