ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द, फ्लाई दुबईका सबै उडान स्थगित

विमानस्थल बन्द भएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले पनि दुबई आउजाउ गर्ने आफ्ना सबै उडानहरू तत्कालका लागि स्थगित गरेको छ । त्यस्तै फ्लाई दुबईले एक जरुरी सूचना जारी गर्दै आफ्ना यात्रुहरूलाई अहिले विमानस्थलतर्फ नजान विशेष आग्रह गरेको छ ।

काठमाडौं । मध्यपूर्वको तनाव र सुरक्षा चुनौतीकाबीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द भएको छ । विमानस्थल बन्द भएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले पनि दुबई आउजाउ गर्ने आफ्ना सबै उडानहरू तत्कालका लागि स्थगित गरेको छ ।

दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरूप यो कदम चालिएको बताएका छन् । सोमबार भएको ड्रोन आक्रमणका कारण विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो । अधिकारीहरूले विमानस्थल नजिकै लागेको उक्त आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उडानहरू रोक्नुपरेको जनाएका छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा मानिन्छ । बीबीसीका अनुसार सन् २०२५ मा मात्रै यहाँबाट झण्डै ९ करोड यात्रुले यात्रा गरेका थिए । युद्ध सुरु भएयता खाडीका अरब मुलुकहरूले २ हजार भन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् ।

 त्यस्तै फ्लाई दुबईले एक जरुरी सूचना जारी गर्दै आफ्ना यात्रुहरूलाई अहिले विमानस्थलतर्फ नजान विशेष आग्रह गरेको छ । कम्पनीले यात्रु र चालक दलका सदस्यहरूको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ ।

विमानस्थल बन्दका कारण सोमबारका लागि काठमाडौंबाट हुने फ्लाई दुबइ लागि उडानको टिकट बुक गरिसकेका यात्रुहरूले आफ्नो उडानको अवस्था बुझ्न, पुनः बुकिङ गर्न वा रिफन्डका विकल्पहरू हेर्नका लागि फ्लाई दुबईको आधिकारिक वेबसाइट flydubai.com प्रयोग गर्न वा सम्पर्क केन्द्रको नम्बर (+९७१) ६०० ५४ ४४ ४५ मा सम्पर्क गर्न सक्नेछन् । उडानहरू पुनः सुचारु हुने निश्चित समय भने अझै तोकिएको छैन ।