नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ

६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

श्रेष्ठले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा कार्यरत रहँदा निक्षेपकर्ताको बचत र संस्थाको पुँजी अनियमित रूपमा प्रयोग गरी व्यक्तिगत फाइदाका लागि उपयोग गरेको पाइएको थियो । यस सम्बन्धमा नेपाल राष्ट्र बैंकको सिफारिसपछि बैंकिङ कसूर ऐन अन्तर्गत मुद्दा अघि बढाइएको थियो ।

सर्वोच्च अदालतले २०८१ भदौ ५ गते फैसला सुनाउँदै पहिलो मुद्दामा ३ वर्ष कैद र १९ करोड ४६ लाख जरिवाना र दोस्रो मुद्दामा ३ वर्ष कैद र ३ करोड २१ लाख जरिवाना तोकेको थियो। श्रेष्ठमाथि कुल ६ वर्ष कैद र २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना तोकिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका-५ सितापाईलाबाट आइतबार पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।