फागुनसम्म सरकारले साढे ७ खर्ब कमाउँदा खर्च गर्यो सवा ९ खर्ब
कर राजस्व वार्षिक लक्ष्यको ५१ प्रतिशत असुली हुँदा पुँजीगत खर्च १९ प्रतिशत मात्र
यसअवधिमा राजस्व संकलन लक्षय मात्र पुरा नभएको होइन । सरकारी खर्च प्रबृत्तिले पनि लक्षय पहिल्याउन सकेको छैन । विवरणअनुसार यसअवधिमा पुँजीगत खर्चको अवस्था झनै भयावह देखिएको छ । फागुनसम्मको खर्चलाई वार्षिक लक्षयसँग दाँजेर हेर्दा कुल पुँजीगत खर्चको १९.२४ प्रतिशत हाराहारी मात्रै यसअवधिमा खर्च भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म सरकारले ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । फागुलनसम्म प्राप्त राजस्व यसअवधिको लक्षयको ८२.६० प्रतिशत मात्रै हो । सरकारले फागुनसम्म भने ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो ।
राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) का अनुसार राजस्व संकलनको वार्षिक लक्षय १४ खर्ब ८० अर्ब रुपैयाँ छ । यो राजस्व संकलन वार्षिक लक्षयको ५१.०४ प्रतिशत मात्रै हो ।
यसअवधिमा राजस्व संकलन लक्षय मात्र पुरा नभएको होइन । सरकारी खर्च प्रबृत्तिले पनि लक्षय पहिल्याउन सकेको छैन । विवरणअनुसार यसअवधिमा पुँजीगत खर्चको अवस्था झनै भयावह देखिएको छ । फागुनसम्मको खर्चलाई वार्षिक लक्षयसँग दाँजेर हेर्दा कुल पुँजीगत खर्चको १९.२४ प्रतिशत हाराहारी मात्रै यसअवधिमा खर्च भएको छ । चालू वर्ष चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन भएकोमा ७८ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधि (फागुनसम्म) नौ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ । जुन वार्षिक विनियोजन १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको ४७.१८ प्रतिशत हो ।
यसवर्ष चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन भएकामा लक्षयको ५४.३७ प्रतिशत अर्थात् ६ खर्ब ४२ अर्ब १४ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ । यसअवधिमा सबैभन्दा धेरै खर्च व्यवस्थाअन्तर्गत भएको छ । वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन भएकामा हालसम्म ५४.८९ प्रतिशत अर्थात् दुई खर्ब पाँच अर्ब ९५ करोड २३ लाख रुपैयाँ खर्च भएको छ ।