अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्दै
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज (चैत १ गते) सो रकम तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ । यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८२ चैत २९ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन् । बोलपत्र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ र सोही क्रमअनुसार आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ ।
यसरी संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा रहनेछ । उक्त रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन, तर राष्ट्र बैंकको निर्देशनअनुसार कायम राख्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न पाइने व्यवस्था गरिएको छ ।