डिजिटल बैंकिङमा सिटिजन्सको रफ्तारः 'सिटिजन्स स्मार्ट' मार्फत सेयर आवेदन र CRN दर्ता अब झन् सहज

काठमाडौ । नेपालको पुँजी बजारमा सर्वसाधारणको आकर्षण तीव्र गतिमा बढिरहेका बेला सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूका लागि धितोपत्र आवेदन प्रक्रियालाई अत्यन्तै सरल र प्रविधिमैत्री बनाएको छ । हाल प्राथमिक बजारमा आउने प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ), थप सार्वजनिक प्रस्ताव (एफपीओ), हकप्रद सेयर (Rights Shares) र सामूहिक लगानी कोष (Mutual Fund) का लागि आवेदन दिने सबैभन्दा सुरक्षित र भरपर्दो माध्यम 'आस्वा' (ASBA) प्रणाली बनेको छ । बैंकका ग्राहकहरूले अब सेयर आवेदनका लागि बैंकको शाखा धाउनु पर्दैन । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एप र मेरो सेयर पोर्टलमार्फत सिधै सेयर आवेदन गर्न सक्छन् । यद्यपी बैंकमा जान चाहने ग्राहकहरु भने सिटिजन्सको नजिकको जुनसुकै शाखा कार्यालय गएर आफूले चाहेको सेवा लिन सक्छन् ।

विशेष गरी सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले एपभित्र रहेको 'MY ASBA' फिचर मार्फत पहिलो पटक आफ्नो डिम्याट खाता प्रमाणित गरी ग्राहक दर्ता नम्बर (CRN) लिङ्क गर्नुपर्ने हुन्छ । एक पटक यो दर्ता प्रक्रिया पूरा भएपछि बजारमा निष्कासन भएका सबै आईपीओहरूको सूची मोबाइलमै देखिने र त्यहीँबाट आफूले चाहेको कित्ता संख्या भरी सहजै आवेदन दिन सकिने सुविधा रहेको छ । यस प्रक्रियामा आवेदन दिइएको रकम बाँडफाँड नभएसम्म बैंक खातामै रोक्का रहन्छ र त्यसबेला, ग्राहकले नियमित रूपमा ब्याज समेत प्राप्त गरिरहन्छन् । सेयर बाँडफाँड भएपछि मात्रै प्राप्त भएको सेयर संख्या बराबरको रकम खाताबाट काटिन्छ र बाँकी रकम स्वतः फुकुवा हुन्छ ।

बैंकको डिम्याटरआस्वा विभाग प्रमुख रोजिना तिवारीका अनुसार बैंकले सेयर आवेदन दिन मोबाइल बैंकिङ एपलाई नै प्राथमिकता दिनुको मुख्य कारण यसले प्रदान गर्ने 'रियल-टाइम' सुविधा हो । ग्राहकले एपबाट तत्कालै सीआरएन नम्बर प्राप्त गर्न सक्ने हुनाले भौतिक रूपमा बैंक जानु पर्दैन भने आवेदन दिँदा पटक-पटक सीआरएन नम्बर सम्झिरहनु पर्ने बाध्यता समेत रहँदैन । 'सेयर आवेदन स्वीकृत भयो वा अस्वीकृत भयो भन्ने जानकारी पनि तुरुन्तै प्राप्त सकिन्छ', DEMAT/ASBA विभागिय प्रमुख तिवारीले भनिन्, 'सेयर बाँडफाँडको नतिजा समेत एपमै हेर्न सकिने हुनाले यो प्रणाली ग्राहकका लागि निकै प्रभावकारी देखिएको छ ।'

बैंकले प्रयोग गर्ने अत्याधुनिक आस्वा (ASBA) सफ्टवेयरले स्वचालित रूपमा सीआरएन नम्बर जेनेरेट गरी (C-ASBA) पोर्टलसँग आबद्ध गराउँछ । आवेदन दिनासाथ कुनै मानवीय हस्तक्षेप बिना नै तोकिएको रकम रोक्का हुने र नियमानुसार लाग्ने आस्वा शुल्क पनि सोही समयमा काटिने व्यवस्था गरिएको छ । यसले आवेदन दिने समय र रकम रोक्का हुने समयको अन्तर कम भई आवेदन अस्वीकृत हुने जोखिम कम गराएको छ । सेयर बाँडफाँड पछि नपरेको खण्डको रकम पनि प्रणालीले समयमै फुकुवा गरिदिने हुनाले ग्राहकको सन्तुष्टि र कार्यदक्षतामा समेत उल्लेख्य वृद्धि भएको विभागीय प्रमुख तिवारीको भनाई छ ।

सिटिजन बैंक सिडिएस एण्ड क्लियरिङको अनुमतिपश्चात् नेपालमै सिटिजन्स मोबाइल बैकिङ्ग एपमार्फत ‘माई आस्वा’को सुविधा दिने पहिलो बैंक पनि हो । सेयर आवेदन मात्र होइन सिटिजन्स बैंकका अधिकांश ग्राहकहरुले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङको अत्यधिक सुविधा प्रयोग गरेका कारण डिजिटाइजेसनको प्रभाव बढेर अहिले बैंकका शाखाहरुमा भिडभाड कम भएको छ ।

सिटिजन्स बैंकलाई सन् २०२४ र २०२५ मा लगातार बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका 'द बैंकर'ले ‘बैंक अफ द इयर’ अवार्डबाट समेत सम्मानित गरेको थियो । बैंकले 'सिटिजन्स डिजी बैंक सेवा' नामक एकीकिृत अनलाइन प्लेटफर्मसमेत सञ्चालनमा ल्याएको छ ।