विश्वमै पहिलो पटक बुद्ध एयरको एटीआर-७२ जहाजको विदाइ

१६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको थियो ।

जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुध्द एयरले कल साईन ९एन–एजेओ रहेको एटीआर–७२ जहाजलाई औपचारिक रुपमा विदाइ गरेको छ । विश्वमै एटीआर ७२ जहाज पहिलोपल्ट बुढो भएर सेवाबाट विदा भएको हो ।

काठमाडौँ । जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुध्द एयरले कल साईन ९एन–एजेओ रहेको एटीआर–७२ जहाजलाई औपचारिक रुपमा विदाइ गरेको छ । विश्वमै एटीआर ७२ जहाज पहिलोपल्ट बुढो भएर सेवाबाट विदा भएको हो ।

एटीआर–७२ जहाजको अधिक्तम उडान क्षमता ७२,००० साईकल हो । ‘साईकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ ।

यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौंसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको थियो । 

बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भने, ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो येगदान दियो । यसले बुध्द एयरको बजार बिस्तार तथा शाख बढाउन दुबैमा ठूलो महत्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौं ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका जेनरल म्यानेजर टेकनाथ सिटौलाले बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक विदाई गर्न सम्भव भएको बताए ।

यसअघि बुध्द एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि विदाई गरेको थियो । बुध्द एयरले आन्तरिक रुपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ । साथै अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ ।