विदेशी विनिमय सञ्चिति पौने २२ अर्ब डलर, डेढ वर्षलाई बस्तु तथा सेवा आयात गर्ने क्षमता

माघसम्म ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले शोधनान्तर स्थिति बचतमा

चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

काठमाडौं । नेपालमा कुल विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार कुल विदेशी विनिमय सञ्चिति २०८२ माघसम्म ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यो सञ्चिति गत असारको २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँको तुलनामा २३.३ प्रतिशतले बढी हो । 

माघसम्म भएको कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा भने २२ अर्ब ७६ करोड छ । यो सञि्चिति २०८२ असारको १९ अर्ब ५० करोड डलरको तुलनामा १६.७ प्रतिशतले बढी हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असारमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँको तुलनामा २१.२ प्रतिशतले बढेर २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँबाट ४२.८ प्रतिशतले बढेर ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । 

यसैगरी २०८२ माघसम्म रहेको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात पनि बढेको छ। २०८२ माघमा यी अनुपात क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत छन् ।

माघसम्म ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले शोधनान्तर स्थिति बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता चालु आव सात महिनासम्म ३ अर्ब ४७ करोडले बचतमा पुगेको छ ।

चालु आव माघसम्म खुद पूँजीगत ट्रान्स्फर ११ अर्ब ४३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । गत आव सोही अवधिमा ५ अर्ब ८३ करोड थियो । गत माघमा १० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा ७ अर्ब ४३ करोड थियो ।

चालु आव सात महिनासम्म शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोड बचतमा छ । गत आव सोही अवधिमा २ खर्ब ८४ अर्ब ४१ करोड बचतमा थियो । अमेरिकी डलरमा गत आव माघसम्म २ अर्ब ११ करोड बचतमा रहेको शोधनान्तर स्थिति चालु आव सोही अवधिमा ४ अर्ब ३ करोड बचतमा छ ।