विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी विश्वकै १९८२औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍याङ्किङ अनुसार चौधरी कुल २ अर्ब १० करोड डलर सहित सो स्थानमा रहन सफल भएका हुन् ।

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी विश्वकै १९८२औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍याङ्किङ अनुसार चौधरी कुल २ अर्ब १० करोड डलर सहित सो स्थानमा रहन सफल भएका हुन् । चौधरी सन् २०२५ मा १७६३औं स्थानमा थिए । त्यस समयमा चौधरीको सम्पत्ति २ अर्ब डलर बराबरको रहेको फोर्ब्सले जनाएको छ । सन् २०२६ मा चौधरीको सम्पत्ति नेपाली रुपैयाँमा ३ खर्ब २ अर्ब पुगेको हो ।

एक वर्ष अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले बढेको फोर्ब्सले जनाएको छ । सन् २०१९ मा १३४९औं स्थानमा रहेका उनको सम्पत्ति कोभिड(१९ महामारीकालमा भने केही घटेको थियो । यसलाई चौधरीले सुधार गर्न सफल भएका छन् ।

७० वर्ष उमेर पुगेका चौधरीको आयस्रोत विविध छ। काठमाडौंमा बस्दै आएका उनका तीन छोरा छन्। चौधरी सीजी कर्प ग्लोबलका प्रमुख हुन्। उनको धेरै सम्पत्ति नेपालको नबिल बैंक र वाइवाइ उत्पादक सीजी फुड्सबाट आउने गर्छ ।

चौधरी ग्रुपले वाइवाइ चाउचाउ भारत, सर्विया र बंगलादेशबाट उत्पादन गर्दै आएको छ। इजिप्टमा यसको कारखाना खुलिरहेको छ। ग्रुपले चाउचाउबाहेक विविध ससेज उत्पादन गर्ने योजना पनि छ ।

यसबाहेक सीजीका होटल सम्पत्ति पनि छ। जसमा १४३ आफ्नै स्वामित्व र व्यवस्थापनका रहेका छन्। यसले भारतको ताज होटल चेनसँग मिलेर विलासी होटल सञ्चालन समेत गरिरहेको छ। चौधरीका छोराहरु निर्वाणले नेपालमा र वरुण तथा राहुलले विदेशमा यसका व्यवसाय हेर्दै आएका छन्। निर्वाण र राहुल चौधरी ग्रुपका प्रबन्धनिर्देशक रहेका छन् ।

फोर्ब्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मस्क छन् । उनको सम्पत्ति ८ अर्ब ३९ करोड डलर रहेको छ । उनी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित छन् । दोस्रो नम्बरमा अमेरिकी अर्बपति ल्यारी पेज छन् । अर्बपतिहरूको सूचीमा सबैभन्दा धेरै अमेरिका, चीन, भारत लगायत देशका रहेको फोर्ब्सले जनाएको छ ।