नेपालमा वार्षिक ३० अर्बको औषधी उत्पादन, ८० अर्बको खपत
नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भयो
हाम्रो औषधि विदेशका कुन औषधिसँग तुलना गर्ने गरौं, कहाँ लगेर परीक्षण गर्ने गरौं, नेपालको औषधी गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको छ, हामी विदेशमासमेत औषधि निर्यात गर्न योग्य छौं, गरिरहेका छौं ।
काठमाडौं । नेपालमा वार्षिक ८० अर्ब रुपैयाँ बढीको औषधी खपत हुने गरेको छ । नेपाल औषधी उत्पादक संघले कुल खपत औषधीमध्ये करिब दुई तिहाई हिस्सा आयात गर्नुपरेको जानकारी दिएको छ ।
मंगलवार नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरताः नीतिगत सवाल विषयक कार्यक्रम संघका अध्यक्ष विप्लव अधिकारीले नेपालमा झण्डै ३० अर्ब रुपैयाँबराबरको औषधी उत्पादन हुने गरेको जानकारी दिए । नेपाललाई पाँच वर्ष भित्रमा औषधिमा आत्मनिर्भर बनाउन सकिने भन्दै अध्यक्ष अधिकारीले नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम समेत भइरहेको दावी गरे । औषधी उत्पादनमा २०३५ सालमा बनेको औषधि ऐन वाधक रहेको भन्दै अधिकारीले ऐन संशोधन गरेर नेपालको उद्योगमैत्री नबनाउँदासम्म अधिकांश औषधी आयातमै भर पर्नुपर्ने जिकिर गरे ।
‘हामी आयातमुखी औषधि ऐन बोकेर हिडिरहेका छौं, औषधि ऐनलाई जनतामुखी बनाऔं, २०३५ सालमा बनेको ऐनले उद्योगमैत्री काम गर्न सकेन, प्रशासनले पनि काम गर्न सकेनन्, औषधि ऐनमा नीतिगत परिवर्तन गरे हामी पाँच वर्षभित्र औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सक्छौं, ८० प्रतिशन औषधि हामी उत्पादन गरेर देखाउँछौं’ अध्यक्ष अधिकारीले भने, ‘हाम्रो औषधि विदेशका कुन औषधिसँग तुलना गर्ने गरौं, कहाँ लगेर परीक्षण गर्ने गरौं, नेपालको औषधी गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको छ, हामी विदेशमासमेत औषधि निर्यात गर्न योग्य छौं, गरिरहेका छौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू पूर्णरूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेका छन् ।
कार्यक्रममा मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले हाल नेपालको आन्तरिक उत्पादनले कुल मागको करिव ४० देखि ५० प्रतिशत मात्र धानिरहेको बताए ।स्वदेशी उद्योगहरूले अत्यावश्यक औषधी उत्पादनलाई आफ्नो ‘सामाजिक उत्तरदायित्व’ का रूपमा लिएर उत्पादन र आपूर्तिमा सहजीकरण गर्नुपर्ने भन्दै दासले दासले मूल्य र गुणस्तरमा भने उद्योगीहरूले सम्झौता गर्न नहुने बताए ।
‘हामीलाई सस्तो, गुणस्तरीय र पर्याप्त औषधि चाहिएको छ । पहिलो चरणमा सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू स्वदेशी उद्योगले नै उत्पादन गरिदिउन् भन्ने मन्त्रालयको चाहना छ,’ उनले भने, ‘यसले गर्दा स्थानीय गाउँ तहसम्म सर्वसलभ रूपमा औषधि पुग्न सकोस् हामीले अहिले ४०–४५ वटा औषधि मात्र आफैँ बनाउन सक्छौँ भनेर बस्ने होइन, क्षमता विस्तार नगरी बाहिरबाट आउने औषधिलाई प्रतिस्थापन गर्न सकिँदैन ।
सामाजिक उत्तरदायित्व बहन गर्दै सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराएमा राज्यले उद्योगीहरूलाई पूर्ण रूपमा सहयोग गर्ने उनको भनाइ छ । नेपाली औषधि उद्योगहरूले उत्पादन गरेका औषधिको गुणस्तर राम्रो हुँदाहुँदै पनि बजारमा ‘गुणस्तरहीन’ भन्ने भ्रम फैलिएकोमा दासले चिन्ता व्यक्त गरे ।