रूपन्देही-२ का चुन्न पौडेल र ३ का बासुदेव घिमिरेले बुझाए चुनावी खर्च विवरण
क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पौडेलले निर्वाचनमा २४ लाख ४३ हजार ८२३ रूपैयाँ खर्च भएको भन्दै मंगलबार निर्वाचन आयोगमा खर्च विवरण बुझाएका छन् । त्यस्तै क्षेत्र नं. ३ का नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले निर्वाचन आयोगमा १९ लाख ४६ हजार हाराहारीको खर्च विवरण पेस गरेका छन् ।
काठमाडौं । रुपनदेही क्षेत्र न. २ बाट उम्मेदवार बनेका चुन्नप्रसाद पौडेल र क्षेत्र नं. ३ उम्मेदवार बनेका वासुदेव घिमिरेले निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पौडेलले निर्वाचनमा २४ लाख ४३ हजार ८२३ रूपैयाँ खर्च भएको भन्दै मंगलबार निर्वाचन आयोगमा खर्च विवरण बुझाएका छन् । पौडेलले बुझाएको खर्च विवरण अनुसार सबैभन्दा धेरै मसलन्द, छपाइ र प्रिन्टिङमा ९ लाख २१ हजार ७४० रूपैयाँ खर्च भएको उल्लेख छ । त्यस्तै खाना, नास्ता तथा चियापानमा ५ लाख ४५ हजार ६८९, बिजुली साउन्ड सिस्टममा २ लाख ७४ हजार ७२० तथा अफिस, प्रचार प्रसार र कार्यालय भाडामा २ लाख ४० हजार खर्च भएको उल्लेख छ । त्यसैगरी सवारी साधन तथा इन्धनमा १ लाख ७९ हजार ८९४, गाडी भाडा १ लाख ५० हजार हजार र मञ्च व्यवस्थापन, कुर्ची तथा टेन्टमा १ लाख ३१ हजार ७८० रूपैयाँ खर्च भएको उल्लेख छ ।
त्यस्तै क्षेत्र नं. ३ का नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले निर्वाचन आयोगमा १९ लाख ४६ हजार हाराहारीको खर्च विवरण पेस गरेका छन् । घिमिरेले सबैभन्दा बढी सवारी साधनमा ५ लाख ७९ हजार २००, खाना, खाजा र आवासमा ४ लाख ४६ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख ३६ हजार, निर्वाचन प्रतिबद्धता पत्र छपाइमा २ लाख २७ हजार खर्च भएको उल्लेख गरेका छन् । त्यस्तै वडास्तरीय घरदैलो कार्यक्रममा १ लाख ८० हजार, झन्डा र ब्यानरमा ६६ हजार, नमुना मतपत्र छपाइमा ५७ हजार ५ सय, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा ४४ हजार ६ सय र मनोनयन दर्तामा १० हजार गरी १९ लाख ४६ हजार ३ सय रूपैयाँ खर्च भएको घिमिरेले निर्वाचन आयोगमा पेस गरेको खर्च विवरणमा उल्लेख छ ।