धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार किशोरी साह कमलको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार किशोरी साह कमलको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगलाई ७ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो ।

कालोसूचीमा परेको उजुरीपछि आयोगले फागुन १८ मा उम्मेदवारी खारेज गरेको थियो । मतगणना सकिए पनि मुद्दा विचाराधीन भएकाले परिणाम सार्वजनिक गरिएको छैन। अन्तरिम आदेश दिने विषयमा छलफलका लागि फागुन २९ गते पेशी तोकिएको छ । अदालतको आदेशमा उल्लेख भए अनुसार, निर्वाचन आयोगले यसअघि नै २०८२ फागुन २४ को पत्रमार्फत सम्बन्धित निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नू–नगराउनू भनी निर्देशन दिइसकेको देखिएकाले हाललाई मत परिणाम घोषणा स्थगनकै अवस्थामा रहेको छ ।

 ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो ।  यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन् । यो निर्वाचन क्षेत्रमा मतगणना सम्पन्न भइसकेको छ तर अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरेको छैन  ।