रास्वपाले काठमाडौँ–१ बाट खाता खोल्यो, रञ्जु दर्शना विजयी
उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् । दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् ।
यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् । दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।
१७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिइन् । २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । जसमा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनिन् । त्यसबेला उनी २२ वर्षकी थिइन् । उक्त निर्वाचनमा उनले २३ हजार ४३९ मत प्राप्त गरिन् र तेस्रो भइन् । त्यसबेला काठमाडौं महानगरको मेयरमा भने नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भए । त्यो चुनावले रञ्जुलाई राष्ट्रिय चर्चामा ल्यायो ।
२०७८ सालमा विवेकशीलमा आन्तरिक कलह चुलियो । रञ्जु पार्टीबाट राजीनामा दिएर केही समय स्वतन्त्र रहिन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनिन् । तर चुनाव जित्न सकिनन् । त्यसबेला उनले जम्मा ६०० मत पाएकी थिइन् ।
२०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन् । रास्वपाबाटै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनिन् र चुनाव जितिन् । रञ्जु काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा हुन् ।