सवा अर्ब बिगो मागदाबीसहित अदालत र प्रहरी कार्यालय जलाउने १३ जनाविरुद्ध मुद्दा
सर्वोच्च जलाएको आरोपमा समातिएका नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुङ्गेलविरुद्ध भने मुद्दा चलाईएन
सर्वोच्च अदालत जलाएको आरोपमा ब्राउन भन्ने सुशील श्रेष्ठ, ज्योती थापा घताने, विनोदकुमार थापा, एलेक्स भन्ने कुमार पराजुली र सम्राट भन्ने राजु परियारलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सर्वोच्च अदालत जलाएको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलबार जिल्ला अदालत काठमाडौँमा आपराधिक उपद्रव र डाँकासम्बन्धी मुद्दा दायर गरेको हो ।
प्रहरी वृत्त बौद्ध जलाएको आरोपमा समिर श्रेष्ठ र सुनिल तामाङ, सिंहदरबार मूलगेट तोडफोडको आरोपमा आशिष गुरुङ, प्रहरी प्रभाव बलम्बु तोडफोडको आरोपमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्कामगर र रमेश विक भन्ने छत्रबहादुर विकविरुद्ध मुद्दा दायर भएको हो ।
यस्तै सर्वोच्च अदालत जलाएको आरोपमा ब्राउन भन्ने सुशील श्रेष्ठ, ज्योती थापा घताने, विनोदकुमार थापा, एलेक्स भन्ने कुमार पराजुली र सम्राट भन्ने राजु परियारलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध क्षतिपूर्तिस्वरूप १ अर्ब २३ करोड ६२ लाख २८ हजार ५२ रुपैयाँ बिगो मागदाबी गरिएको छ । साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीहरुबाट पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराइपाउँ भन्ने मागदावी पनि गरिएको छ ।
सर्वोच्च अदालतले जलाएको आरोपमा पक्राउ परेका नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णुप्रसाद ढुङ्गेलविरुद्ध भने मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ। उनी घटनास्थलमा उपस्थित भएको फुटेजबाट नदेखिएको र अन्य प्रतिवादीले पनि उनलाई नपोलेको देखिएकाले मुद्दा नचलाउने निर्णय भएको हो ।