चुनावको ४ दिनअघि ११ दल र १८६५ उम्मेदवारको बैंक खाता, आयोगलाई चुनौति बन्दै आफ्नै निर्णय
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि अनिवार्य बैंक खाताको व्यवस्था गरिएको छ ।
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दर्ता गराएका ११ राजनीतिक दल र एक हजार ८६५ जना उम्मेद्वारले मात्र बैंक खाता खोलेका छन् । निर्वाचन आयोगका अनुसार समग्रमा करीव १७ प्रतिशत राजनीतिक दल र ५५ प्रतिशत उम्मेद्वारले मात्र बैंक खाता खोलेका हुन् । निर्वाचनमा ६५ राजनीतिक दल र तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारले भाग लिएका छन् ।
आईतबार (फागुन १७ गते) सम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि अनिवार्य बैंक खाताको व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले कार्यविधिअनुसार खाता खोल्न भनिएको छ ।
निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिने र खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ । यही व्यवस्थाअनुसार दल र उम्मेदवारले खाता खोलेका हुन् ।