बिमकहरूले साढे ५५ अर्ब दाबी भुक्तानी गर्न बाँकी, ठूलो हिस्सा निर्जीवनतर्फ

सात महिनामा जीवन र निर्जीवन बिमकहरुले तिरे पौने ४१ अर्ब रुपैयाँ

खासगरि गत भदौ २३-२४ मा भएको जेनजी आन्दोलन र असोजमा आएको विनाशकारी बाढी पहिरोका कारण भौतिक सम्पत्तिमा ठुलो क्षति पुग्दा निर्जीवन बिमा दाबी र भुक्तानी रकम बढेका कारण समग्रमा दावी भुक्तानीको संख्या र रकम बढेको हो ।


काठमाडौं । बीमा कम्पनीहरुले पछिल्लो ७ महिना (साउन–माघ) मा ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । खासगरि गत भदौ २३-२४ मा भएको जेनजी आन्दोलन र असोजमा आएको विनाशकारी बाढी पहिरोका कारण भौतिक सम्पत्तिमा ठुलो क्षति पुग्दा निर्जीवन बिमा दाबी र भुक्तानी रकम बढेका कारण समग्रमा दावी भुक्तानीको संख्या र रकम बढेको हो । 

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क (बिमा प्रतिविम्ब) अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो सात महिनामा जीवन बिमकहरूले १ लाख २३ हजार ९२ वटा दाबीबापत २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा जीवन बीमाको दाबी भुक्तानी सङ्ख्या १.३१ प्रतिशतले थोरै हो भने भुक्तानी रकम १.२१ प्रतिशतले बढी हो । गत वर्ष माघसम्म जीवन बीमकहरूले १ लाख २४ हजार ७१० वटा दाबीको २४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

त्यस्तै, निर्जीवन बीमकहरूले पछिल्लो ७ महिनामा ८३ हजार ८१९ वटा दाबीको १५ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गरेका छन् । निर्जीवन बीमकहरूको दाबी संख्या र भुक्तानी रकम दुबैमा उल्लेख्य वृद्धि भएको छ । यसअवधिमा निर्जीवन बिमातर्फ दाबी सङ्ख्या ८.९४ प्रतिशत र भुक्तानी रकम ३२.३० प्रतिशतले बढेको छ । गत वर्षको यही अवधिमा ७६ हजार ९३७ दाबीबाट ११ अर्ब ९५ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

बिमा कम्पनीहरूले ठुलो रकम भुक्तानी गरे पनि अझै १ लाख ७६ हजारभन्दा बढी दाबी फाइलहरूको ५५ अर्ब ६० करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । बाँकी रहेको दाबीमध्ये जीवन बिमकहरूको ६० हजार ४५१ वटा दाबीबापत ५ अर्ब ४५ करोड १८ लाख रुपैयाँ र निर्जीवन बिमकहरूको १ लाख १६ हजार ४२१ वटा दाबीबापत ५० अर्ब १४ करोड ९६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । विशेष गरी असोजको बाढी पहिरोपछिका ठुला दाबीहरूको मूल्याङ्कन प्रक्रिया जारी रहेकाले बाँकी दाबीको अंक ठुलो देखिएको हो ।

हाल नेपालमा १४ जीवन बीमा कम्पनी, १४ निर्जीवन कम्पनी, ४ लघु निर्जीवन कम्पनी र ३ लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।