७ महिनामा थपियो २ खर्ब सार्वजनिक ऋण, तिर्नुपर्ने भयो साढे २८ खर्ब बढी, प्रतिव्यक्ति ऋण कति ?
गत असारमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपयाँ रहेको सार्वजनिक ऋण सात महिनामा १ खर्ब ८४ अर्ब ९३ करोड थपिएको हो । हालको कुल ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ८१ प्रतिशत बराबर पुगेको छ । सार्वजनिक ऋणको आकार बढेसँगै आगामी दिनमा साँवा–ब्याज भुक्तानीको दबाब अझ बढ्ने संकेत देखिएको छ ।
काठमाडौं । पछिल्लो ७ महिनामा करिव २ खर्ब रुपैयाँ सार्वजनिक ऋण बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिना (माघ) सम्म मुलुकको सार्वजनिक ऋण बढेर २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । २०८२ असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ७ महिनामा मात्रै १ खर्ब ८४ अर्ब ९३ करोडले रुपैयाँले सार्वजनिक ऋण बढेको हो । हालको कुल ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.८१ प्रतिशत बराबर हो । गत वर्ष (आर्थिक वर्ष २०८१ ८२) को जीडीपी ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको छ । सार्वजनिक ऋणको आकार अर्थतन्त्रको आधा हाराहारी पुगेको छ । यसले आगामी दिनमा साँवा–ब्याज भुक्तानीको दबाब अझ बढ्ने संकेत गरेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । नेपाल कुल ऋण २८ खर्ब ५८ अर्ब ९७ करोडलाई जनसंख्याले भाग गर्दा प्रतिव्यक्ति सार्वजनिक ऋणको अंश निस्कन्छ । यसरी हेर्दा माघसम्म प्रतिव्यक्ति ऋणको हिस्सा (८ हजार २८ रुपैयाँ पर्न आउँछ ।
कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.८१ प्रतिशत छ भने आन्तरिक ऋण ४७.१९ प्रतिशत छ । माघसम्म सरकारले २ खर्ब ३ अर्ब ६५ करोड रुपैयाँ साँवा–ब्याज भुक्तानी गरिसकेको छ । यसमध्ये १ खर्ब ६३ अर्ब ५२ करोड साँवा र ४० अर्ब १३ करोड ५२ लाख ब्याज छ ।
२०८२ असारमा १२ खर्ब ६८ अर्ब २२ करोड रहेको आन्तरिक ऋण बक्यौता माघमा आईपुग्दा १३ खर्ब ४९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । जीडीपीको आधारमा आन्तरिक ऋण २२.०९ प्रतिशत बराबर छ । यस अवधिमा सरकारले २ खर्ब १७ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदा १ खर्ब ३६ अर्ब ७६ करोड रुपैयाँ तिरेको छ ।
त्यस्तै, बाह्य ऋण २०८२ असारमा १४ खर्ब ५ अर्ब ८२ करोड रहेकोमा माघसम्म बढेर १५ खर्ब ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । पछिल्लो ७ महिनामा २६ अर्ब ७६ करोड ९ लाख बाह्य ऋण भुक्तानी हुँदा ३७ अर्ब ८१ करोड ६४ लाख बराबर नयाँ बाह्य ऋण थपिएको छ । जीडीपीको अनुपातमा बाह्य ऋण २४.७२ प्रतिशत छ । खासगरि विनिमय दरमा भएको उतारचढावले
बाह्य ऋणमा ठूलो हिस्सा बढ्न पुगेको छ । कार्यालयका अनुसार विनिमय दरका कारण मुलुकलाई पछिल्लो ७ महिनामा मात्रै बाह्य ऋणतर्फ ९२ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी व्ययभार थपिएको छ ।
चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकोमा माघसम्म २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ उठाईसकेको छ । जुन वार्षिक लक्ष्यको ४२.८९ प्रतिशत हो । यसअवधिमा उठाएको कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८५.२० प्रतिशत र बाह्य ऋण १४.८० प्रतिशत छ ।
सरकारले चालु वर्ष सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा माघसम्म २ खर्ब ३ अर्ब ६५ करोड खर्च गरिसकेको छ । जुन वार्षिक विनियोजनको ४९.५५ प्रतिशत हो । जीडीपीका आधारमा हालसम्मको कुल ऋण सेवा खर्च ३.३३ प्रतिशत बराबर छ ।