१८ नेपाली कैदीलाई आममाफी दिन म्यानमार सकारात्मक, अनलाइन स्क्यामिङमा परेका थिए पक्राउ

स्क्यामिङ केन्द्रहरूबाट ३९२ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको र उद्धारको पर्खाईमा ३०९ जना

थाइल्याण्ड र म्यानमारमा आकर्षक तलवको प्रलोभन देखाई भारत लगाएत अन्य देशको बाटो हुँदै नेपालीहरु त्यसतर्फ पठाउने गरिएको र उनीहरुलाई सुरक्ष गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीमा संलग्न गराउने गरेको पाईएको छ ।

काठमाडौं । अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई म्यानमार सरकार आममाफी दिन सकारात्मक रहेको पाईएको छ । म्यानमारले अवैध अनलाइन स्क्यामिङमा १७ देशका ४९५ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये नेपालीहरुलाई आममाफी दिन सकारात्मक देखिएको हो ।

परराष्ट्र मन्त्रालयले बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत त्यसको जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त क्षेत्र महाशाखा प्रमुख प्रकाश अधिकारीले अवैध रुपमा म्यानमार पुगेर अनलाइन स्क्यामिङमा पक्राउ परेका नेपालीहरुलाई आममाफी दिन म्यानमार सकारात्मक रहेको जानकारी दिए ।

म्यानमारले अनलाइन स्क्यामिङ केन्द्रमा काममा लगाइएका १८ जना नेपालीलाई पक्राउ गरि एक वर्ष कैद सजायँ सुनाएको थियो । त्यसलगतै म्यानमारका लागि नेपालका राजदूतसँग सम्पर्क गरि म्यानमारका उपविदेशमन्त्री र गृहमन्त्रीसँग भेटघाट गर्दा आममाफी दिन सकारात्मक रहेको जवाफ प्राप्त भएको महाशाखा प्रमुख अधिकारीले बताए । नेपाल र म्यानमारको अत्यन्त राम्रो द्विपक्षीय सम्बन्ध भएका कारण नेपालीहरुलाई छाड्न म्यानमार तयार भएको अधिकारीको भनाइ छ ।

थाइल्याण्ड र म्यानमारमा आकर्षक तलवको प्रलोभन देखाई भारत लगाएत अन्य देशको बाटो हुदै नेपालीहरु त्यसतर्फ पठाउने गरिएको भन्दै अधिकारीले यसरी पठाईएका मानिसहरुलाई सुरक्ष गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका क्रियाकलापमा संलग्न गराउने गरेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयका अनुसार स्क्यामिङ केन्द्रहरूबाट हालसम्म ३९२ जना नेपाली नागरिकहरूलाई उद्धार गरी नेपाल फर्काइ सकिएको छ र उद्धारको लागि अझै ३०९ जना प्रक्रियामा रहेका छन् । परराष्ट्र मन्त्रालयले अनलाइन ठगी केन्द्रहरूमा फसेका नेपाली नागरिकहरू उद्धार गरी नेपाल फर्काउन सम्बन्धीत देशका दूतावासहरुमार्फत निरन्तर पहल गरिरहेको जनाएको छ ।