८८ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ८८ दिन अवधिका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बोलकबोल प्रक्रियाबाट उठाउन लागेको हो ।

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ८८ दिन अवधिका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बोलकबोल प्रक्रियाबाट उठाउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलका आधारमा निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १० गते गरिनेछ ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिनेछ ।

राष्ट्र बैंकले आह्वान गरेको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राख्दै क्रमशः स्वीकृति दिने जनाएको छ । संकलित निक्षेप सम्बन्धित संस्थाको लगानी मानिने भएकाले उक्त रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

केन्द्रीय बैंकले पछिल्लो समय प्रणालीमा थुप्रिएको तरलता नियन्त्रण गर्न नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।