वैभव उद्यमी सम्मान २०८२ सम्पन्न : भकारी विज्नेज हाउस र पोलिटेक रिसाइकल सम्मानित

यस वर्षको वैभव उद्यमी सम्मान अन्तर्गत राजिङ इन्टरप्रेनर विधामा भकारी विज्नेज हाउस सम्मानित भएको छ भने इमर्जिङ सक्सेसफुल इन्टरप्रेनर मा पोलिटेक रिसाइकल ले सम्मान प्राप्त गरेको छ ।

काठमाडौं । उद्यमशीलता प्रवर्द्धन तथा युवा उद्यमीहरूको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको “वैभव उद्यमी सम्मान कार्यक्रम २०८२” सम्पन्न भएको छ । कार्यक्रम औद्योगिक व्यवसाय विकास प्रतिष्ठान का प्रमुख कार्यकारी अधिकृत उमेश कुमार गुप्ता को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

यस वर्षको वैभव उद्यमी सम्मान अन्तर्गत राजिङ इन्टरप्रेनर विधामा भकारी विज्नेज हाउस सम्मानित भएको छ भने इमर्जिङ सक्सेसफुल इन्टरप्रेनर मा पोलिटेक रिसाइकल ले सम्मान प्राप्त गरेको छ ।

भकारी विज्नेज हाउस नेपाली हिमालयन वेलनेसका उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आएको कम्पनी हो, जसले हाल २५ जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । त्यस्तै, पोलिटेक रिसाइकल फोहोर वर्गीकरण तथा पुनर्चक्रण रिसाइकल सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको उद्यम हो, जसले २० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।

सम्मान प्राप्त गर्ने उद्यमीहरूले खुशी व्यक्त गर्दै सम्मान पाउने अपेक्षा नगरेको भए पनि मूल्याङ्कन समितिबाट छनोट हुँदा थप हौसला प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उमेश कुमार गुप्ताले सम्मानित उद्यमीहरूलाई बधाई दिँदै देश विकासका लागि उद्यमी व्यवसायीहरूलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरे। उनले नेपाल सरकारअन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवउद्यमीहरूलाई ३ प्रतिशत ब्याजदरमा विना धितो २० लाख रुपैयाँसम्म स्टार्टअप कर्जा उपलब्ध गराइरहेको र यस वर्ष मात्र १० हजारभन्दा बढी आवेदन परेको जानकारी दिए । 

हरेक वर्ष आयोजना हुने उक्त कार्यक्रम एरोनेप कन्सल्टिङ सर्भिसद्वारा आयोजना गरिएको हो । एरोनेप कन्सल्टिङ सर्भिसेज व्यवसाय परामर्श, कर तथा वित्तीय मार्गदर्शन र नीति अध्ययन क्षेत्रमा कार्यरत संस्था हो ।