हङकङको सात भवनमा लागेको आगलागी पिडितका लागि सरकारले ल्यायो पुनर्वास योजना
हङकङको ताइ पोस्थित वाङ फुक कोर्टका सातवटा भवनका करिब १७ सय फ्ल्याट मालिकलाई स्वामित्व अधिकार नगदमा बेच्ने वा फ्ल्याट साटफेर गर्ने विकल्प दिने सरकारले घोषणा गरेको हो ।
काठमाडौँ । हङकङमा सन् २०२५ नोभेम्बरमा भएको भीषण आगलागीको तीन महिनापछि सरकारले पुनर्वास योजना सार्वजनिक गरेको छ ।
हङकङको ताइ पोस्थित वाङ फुक कोर्टका सातवटा भवनका करिब १७ सय फ्ल्याट मालिकलाई स्वामित्व अधिकार नगदमा बेच्ने वा फ्ल्याट साटफेर गर्ने विकल्प दिने सरकारले घोषणा गरेको हो ।
नोभेम्बर २६, २०२५ मा लागेको आगलागीमा १६८ जनाको ज्यान गएको थियो भने हजारौं बासिन्दा विस्थापित भएका थिए । हाल उनीहरू अस्थायी आवासमा बस्दै आएका छन् र सरकारले भाडा सहयोग उपलब्ध गराइरहेको छ ।
सरकारका अनुसार सम्पूर्ण पुनर्वास प्रक्रियामा करिब ६.८ अर्ब हङकङ डलर (झन्डै ७ हजार ८९२ करोड नेपाली रुपैयाँ) खर्च हुने अनुमान गरिएको छ । यसमध्ये ४ अर्ब डलर सार्वजनिक कोषबाट र बाँकी राहत कोषबाट व्यवस्थापन गरिने सरकारले जानकारी दिएको छ ।
प्रभावित फ्ल्याट मालिकहरूसँग सरकारले स्वामित्व अधिकार नगदमा खरिद गर्नेछ । इच्छुकहरूले सरकारी नीतिअनुसार नयाँ फ्ल्याट खरिद गर्न सक्नेछन् भने ठूलो रकम लिन नचाहनेहरूका लागि प्रत्यक्ष फ्ल्याट साटफेरको व्यवस्था गरिनेछ ।
मार्च महिनादेखि प्रभावित मालिकहरूसँग सम्पर्क प्रक्रिया सुरु गरिने र साटफेर योजना रोज्नेहरूले सेप्टेम्बरदेखि नयाँ आवास छनोट गर्न पाउने जनाइएको छ । सरकारका उपवित्त सचिव माइकल वोंगले क्षतिग्रस्त भवनहरूको मर्मत सम्भव र किफायती नभएको बताएका छन् ।
प्रशासन सातवटै भवन भत्काएर उक्त स्थानमा पुनः आवासीय निर्माण नगर्ने पक्षमा रहेको छ । त्यस स्थानमा पार्क वा सामुदायिक सुविधा निर्माण गर्ने योजना अघि सारिएको छ । वोंगका अनुसार सरकारी हस्तक्षेप नभए फ्ल्याट मालिकहरूले बजारमा खरिदकर्ता नपाउने र उनीहरूको वर्षौंदेखिको लगानी शून्य हुन सक्ने जोखिम थियो ।
हालै गरिएको सर्वेक्षणमा ७४ प्रतिशत प्रभावितले स्वामित्व अधिकार सरकारलाई बेच्ने इच्छा व्यक्त गरेका छन् भने ९ प्रतिशतले सोही स्थानमा पुनः निर्माण चाहेको बताएका छन् । पुनः निर्माण प्रक्रियामा करिब १० वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।