२५० जना नेपालीलाई गैरकानुनी रुपमा अमेरिका पुर्याउने दुई जनालाई ९८ करोड बिगोसहित मुद्दा दायर
करिब २५० जना नेपालीलाई गैरकानुनी रुपमा अमेरिका पुर्याउने दुई जनामाथि ९८ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको छ । मानव वेचबिखन तथा ओसारपसार अनुसन्धान ब्यूरोले रुकुम पश्चिमको बाफिकोट गाउँपालिका २ का कलबहादुर बस्नेत र रुकुम पूर्व सिस्ने गाउँपालिका ५ का अमित बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
काठमाडौं । करिब २५० जना नेपालीलाई गैरकानुनी रुपमा अमेरिका पुर्याउने दुई जनामाथि ९८ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको छ । मानव वेचबिखन तथा ओसारपसार अनुसन्धान ब्यूरोले रुकुम पश्चिमको बाफिकोट गाउँपालिका २ का कलबहादुर बस्नेत र रुकुम पूर्व सिस्ने गाउँपालिका ५ का अमित बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
उनीहरुले करिब २५० जना नेपाली नागरिकलाई अवैध बाटोबाट विभिन्न देश हुँदै मानव तस्करीको रूपमा अमेरिका प्रवेश गराएको थिए। उनीहरुले केहीलाई अमेरिका लैजाने भन्दै विभिन्न देशमा अलपत्र पारी मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगीसमेत गरेको देखिएको ब्युरोले जनाएको छ ।
सो कसुरबाट आर्जित रकम नगद तथा आफ्नै नाममा सञ्चालित विभिन्न बैंक खातामा जम्मा गरी शुद्धीकरण गरेको थिए। उनीहरुलाई मनी लाउण्डरिङ निवारण ऐन, २०६४को दफा ३ उपदफा (१) का खण्ड (क), (ख) र (ग) तथा उपदफा (३) बमोजिमको कसुर ठहर भएको छ ।
प्रहरीका अनुसार बस्नेतको नाममा विभिन्न बैंक खातामा कसुरजन्य कार्यबाट प्राप्त भई शुद्धीकरण गरिएको जम्मा रकम ७० करोड ६० लाख ५३ हजार बिगो कायम गरिएको छ। भने, अमित बस्नेतको हकमा २७ करोड ४५ लाख २९ हजार बिगो कायम गरिएको छ । जसअनुसार उनीहरूको कुल बिगो ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।
साथै सोही ऐन अनुसार बिगोको दोब्बर जरिवाना तथा कसुरको मात्रा अनुसार दुई वर्षदेखि पन्ध्र वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ। उनीहरूको नाममा हाल कायम रहेका घर–जग्गा,बैक मौज्दात तथा बिमा रकम मनि लाउण्डरिङ निवारण ऐन, २०६४ को दफा ३४ बमोजिम जफत गरी पाउन मागदावी लिई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत काठमाडौं जिल्ला अदालत, बबरमहल काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।