इमरान खानको दायाँ आँखामा केवल १५ प्रतिशत दृष्टि बाँकी

पीटीआईका वकिल सलमान सफदरले अदियाला जेलमा भेटपछि पेश गरेको सात पृष्ठको प्रतिवेदन अनुसार इमरानको आँखामा रगतको थक्का (ब्लड क्लट) जम्दा गम्भीर क्षति पुगेको र उपचारका बाबजुद दृष्टि अत्यन्त कमजोर भएको जनाइएको छ । अदालतले सफदरलाई ‘एमिकस क्युरिए’ (अदालतका मित्र) का रूपमा नियुक्त गरी जेलमा भेट गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

काठमाडौँ । पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको दायाँ आँखामा अहिले केवल १५ प्रतिशत दृष्टि मात्र बाँकी रहेको चिकित्सकीय प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन सर्वोच्च अदालतमा पेश गरिएको हो ।

पीटीआईका वकिल सलमान सफदरले अदियाला जेलमा भेटपछि पेश गरेको सात पृष्ठको प्रतिवेदन अनुसार इमरानको आँखामा रगतको थक्का (ब्लड क्लट) जम्दा गम्भीर क्षति पुगेको र उपचारका बाबजुद दृष्टि अत्यन्त कमजोर भएको जनाइएको छ । अदालतले सफदरलाई ‘एमिकस क्युरिए’ (अदालतका मित्र) का रूपमा नियुक्त गरी जेलमा भेट गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

प्रतिवेदनमा इमरानले आफूलाई केही महिनाअघि धुम्म देखिने समस्या सुरु भएको तर जेल प्रशासनले समयमै उपचारको व्यवस्था नगरेको गुनासो गरेका छन् । पछि दायाँ आँखाको दृष्टि अचानक पूर्ण रूपमा गुमेको र पिम्स अस्पतालका नेत्र विशेषज्ञले जाँच गर्दा रगतको थक्का जमेको पुष्टि भएको उल्लेख छ ।

७३ वर्षीय इमरानले नियमित स्वास्थ्य परीक्षण, दन्त उपचार र व्यक्तिगत चिकित्सकसँग भेटको अनुमति नदिएको समेत बताएका छन् । साथै, पाँच महिनादेखि आफ्ना मुख्य कानुनी सल्लाहकारसँग भेट्न नपाएको र परिवारका सदस्यहरूसँग भेटघाटमा पनि प्रतिबन्ध लगाइएको दाबी गरेका छन् ।

हाल उनीलाई हप्तामा एक पटक करिब ३० मिनेट पत्नीलाई भेट्न अनुमति दिइएको जनाइएको छ । इमरानको स्वास्थ्य अवस्था र जेलभित्रको सुविधाबारे अदालतमा बहस जारी रहेको छ ।