एभरेष्ट बैंकले ६ महिनामा कमायो २ अर्ब ११ करोड, नाफा २ प्रतिशतले बढ्यो
एभरेष्ट बैंकको नाफा सामान्य बढेको छ । एभरेष्ट बैंकले ब्याज र शुल्क आम्दानीमा सुधार देखाए पनि इम्पेरमेन्ट चार्ज बढेकाले नाफा वृद्धिदर सीमित बनेको देखिन्छ। बैंकले पुस मसान्तसम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले बढी हो । तर, इम्पेरमेन्ट चार्जमा वृद्धि हुँदा नाफा वृद्धिदर सीमित बनेको देखिन्छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ । इम्पेरमेन्ट खर्च बढे पनि बैंकको सञ्चालन मुनाफा भने २.०६ प्रतिशतले वृद्धि भएको छ ।
काठमाडौं । एभरेष्ट बैंकको नाफा सामान्य बढेको छ । एभरेष्ट बैंकले ब्याज र शुल्क आम्दानीमा सुधार देखाए पनि इम्पेरमेन्ट चार्ज बढेकाले नाफा वृद्धिदर सीमित बनेको देखिन्छ। बैंकले पुस मसान्तसम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत बढेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ३१ करोड ५८ लाख रूपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ४ अर्ब ५७ करोड २९ लाख रूपैयाँ पुगेको हो । खुद फि तथा कमिसन आम्दानी २०.३८ प्रतिशत बढेर ९२ करोड १० लाख रूपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशत बढेर ५ अर्ब ८१ करोड ४८ लाख रूपैयाँ पुगेको छ ।
तर, इम्पेरमेन्ट चार्जमा वृद्धि हुँदा नाफा वृद्धिदर सीमित बनेको देखिन्छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ । इम्पेरमेन्ट खर्च बढे पनि बैंकको सञ्चालन मुनाफा भने २.०६ प्रतिशतले वृद्धि भएको छ ।
बैंकको वितरणयोग्य मुनाफा २३.०४ प्रतिशतले बढेर ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ पुगेको छ । यससँगै लाभांश क्षमता पनि ३०.५८ प्रतिशतबाट बढेर ३१.९३ प्रतिशत कायम भएको छ, जसले आगामी दिनमा लाभांश वितरणको सम्भावना सुदृढ भएको संकेत गर्छ ।
यद्यपि, नाफा बढेसँगै पनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा ईपीएस १ रुपैयाँ २० पैसाले घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ । दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य–आम्दानी (पीई) अनुपात २१.३९ गुणा कायम भएको छ ।
वित्तीय सूचकका हिसाबले बैंकको खराब कर्जा अनुपात ०.६८ प्रतिशत, कस्ट अफ फण्ड ३.४५ प्रतिशत र रिटर्न अन इक्विटी (आरओई) १३.१९ प्रतिशत रहेको छ ।
१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्म बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
