माछापुच्छ्रे बैंकको नाफा २५.२५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा
पुससम्म बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ २२ पैसा छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा छ ।
काठमाडौं । पछिल्लो ६ महिनामा माछापुच्छ्रे बैंकको नाफा बढेको छ । चालू ६ महिनामा १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा गरेको छ ।
बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ८० करोड ७३ रुपैयाँको तुलनामा २५.२५ प्रतिशतले बढी हो । यद्यपी यसअवधिमा सञ्चालन नाफा भने घटेको छ । यसअवधिमा खुद ब्याज आम्दानी ४.१६ प्रतिशतले बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १०.२२ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ ।
पुससम्म बैंकको वितरणयोग्य नाफा ४३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । जुन वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ २२ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा कायम भएको छ । १२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माछापुच्छ्रेको जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ छ ।
पुससम्म बैंकले २ खर्ब ४ अर्ब ४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।