अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबारको सीमा घटायौं: अर्थमन्त्री खनाल
कुन क्षेत्रमा नयाँ लगानीका अवसर सिर्जना गर्न सकिन्छ, अर्थतन्त्रको आकार विस्तार गर्न सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ र उत्पादन बढाउन सकिन्छ भन्ने विषयमा बैंक तथा वित्तीय संस्थाहरूले गम्भीर अध्ययन–अनुसन्धान गर्ने परम्परा विकास गर्नुपर्छ ।
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको बताए ।
'गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमको रूपमा ती निकायहरू प्रयोग भइरहेकाले अपारदर्शी कारोवारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको छ', खनालले भने, 'बैंक तथा वित्तीय संस्थाहरूले अरू निकायहरूको तुलनामा अहिलेसम्म राम्रै काम गरेको भएपनि अझै सावधान हुनुपर्ने आवश्यकता छ ।' फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतिर र फिजिकल बैंकिङ एक्सेसबाट भर्चुअल बैंकिङ एक्सेसतिर जानुपर्ने आवश्यकतामा खनालले जोड दिए ।
धितोमा आधारित कर्जाको सट्टामा उद्यमशीलतामा आधारित, आय आर्जन गर्ने क्षमतामा आधारित विधिबाट लगानी गर्न सक्ने अवस्थाका लागि राष्ट्र बैंकसंग अर्थमन्त्रालयले छलफल गरिरहेको भन्दै खनालले भने, 'बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन छैन । कुन क्षेत्रमा नयाँ लगानीका अवसर सिर्जना गर्न सकिन्छ, अर्थतन्त्रको आकार विस्तार गर्न सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ र उत्पादन बढाउन सकिन्छ भन्ने विषयमा बैंक तथा वित्तीय संस्थाहरूले गम्भीर अध्ययन–अनुसन्धान गर्ने परम्परा विकास गर्नुपर्छ ।'
अर्थमन्त्री खनालले मुलुकमा भित्रिने विप्रेषण ठूलो हिस्सा उपभोगमा खर्च भइरहेको उल्लेख गरे । 'हाम्रा बैंक तथा वित्तीय संस्थाले आफैँ अध्ययन गरेर कुन क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुन्छ, स्वदेशमै रोजगारी तथा उत्पादन बढ्छ भन्ने निर्णय गर्नेभन्दा पनि व्यवसायीले ल्याएका प्रस्तावका आधारमा मात्र लगानी गर्ने गरेका छन्', अर्थमन्त्री खनालले भने', 'उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नसके तरलताको प्रभावकारी उपयोग हुने, आन्तरिक उत्पादन बढ्ने र आयात घट्ने हुन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले उत्पादनमुखी लगानीलाई प्राथमिकतामा राख्नुपर्छ ।'