आज उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना
देशका उच्च पहाडी तथा हिमाली भूभागमा थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भूभाग एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागमा थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भूभाग एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।