वाणिज्य विभागको बजार अनुगमन तीव्र: ३ दिनमा ५१ फर्मको निरीक्षण, दर्जनौँलाई कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन दिनमा मात्रै ५१ वटा फर्ममा अनुगमन गरेको छ । उपभोक्ता संरक्षण विभागले पछिल्लो समय अनुगमनलाई तीव्र पार्दै कैफियत देखिएका दर्जनौँ फर्महरुलाई कारबाही गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ–२९ नयाँ बसपार्कलाई दुई लाख एक हजार बराबरको जरिवाना गरेको छ ।

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन दिनमा मात्रै ५१ वटा फर्ममा अनुगमन गरेको छ । उपभोक्ता संरक्षण विभागले पछिल्लो समय अनुगमनलाई तीव्र पार्दै कैफियत देखिएका दर्जनौँ फर्महरुलाई कारबाही गरेको छ ।

विभागले मंगलवार, बुधवार, बिहीबार मात्रै काठमाडौँ, ललितपुर, भक्तपुरका दर्जनौँ फर्महरुमा अनुगमन गरेको थियो । मंगलवार १३ वटा फर्ममा विभागका अधिकारीहरु पुगेर अनुगमन गरेका थिए । सोही दिन खिलुङ्ग मार्केटिङ प्रालिलाई मात्रै विभागले ५० हजार जरिवाना गरेको थिए भने अरु १२ वटा फर्मलाई सुधार्न निर्देशन दिएको थियो। 

बुधवार विभागका अधिकारीहरुले उपत्याका २० फर्ममा अनुगमन गरेका थिए । जसमा कैफियत देखिएको एसपी लिंकर हब, एसटी स्प्रीट वेभरेज इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित कागजत लिएर तीन दिन भित्रमा हाजिर हुन विभागका अधिकारीहरुले निर्देशन दिए भने अरु फर्मलाई सुधार्न निर्देशन दिएका थिए ।

यस्तै, बिहीवार १८ फर्ममा विभागका अधिकारीहरु पुगेका थिए । जसमा कैफियत देखिएका फर्मलाई २ लाखसम्म जरिवाना तोकिएको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ–२९ नयाँ बसपार्कलाई दुई लाख एक हजार बराबरको जरिवाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै, सोही दिन हिमालयन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।