प्रतिनिधिसभा निर्वाचन: ४१ दिन बाँकी हुँदा छापियो १४२ लाख बढी मतपत्र, आज उम्मेद्वारी फिर्ता र चुनाव चिह्न वितरण

आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ ।

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले हालसम्म एक करोड ४२ लाख भन्दा बढी मतपत्र छापेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाइ गर्नुपर्नेमा केन्द्रले एक करोड ४२ लाख आठ हजार थान मतपत्र छाप्ने काम सकेको हो । पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ भएको केन्द्रले जनाएको छ । यसबीचमा केन्द्रले एक करोड ९८ हजार २०० थान नमूना मतपत्र आयोगमा पठाएको जनाएको छ । केन्द्रकाअनुसार ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ ।

आज उम्मेद्वारी फिर्ता र चुनाव चिह्न वितरण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न दिनेछ । राजनीतिक दलबाट उम्मेद्वार भएकाले सम्वन्धित दलको चुनाव चिन्द पाउनेछन् भने स्वतन्त्र उम्मेद्वारले फरक फरक चुनाव चिन्ह पाउनेछन् । आजै उम्मेद्वारी फिर्ता लिने प्रक्रिया पूरा गरेपछि निर्वाचन चिह्न दिइने कार्यक्रम छ ।

निर्वाचन तालिका अनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि आजै दिनको १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ । फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि माघ ६ गते देशैभर उम्मेदवारी दर्ता गरिएको थियो । आयोगले माद्ध ७ गते उम्मेद्वारविरुद्धका उजुरी लिएर ८ गते उजुरी उपर सुनुवाई गरेको थियो । त्यसमध्ये नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संस्थापक रेशम प्रसाद चौधरीको उम्मेद्वारी कैलाली बाट आयोगले खारेज गरेको छ ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८६ उम्मेदवारी दर्ता भएको थियोे । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना छन् ।