अमेरिकी डलर अहिलेसम्मकै उच्च, कहाँ कहाँ असर गर्छ ?

अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ । यता नेपाल विकासशील मुलुकमा स्तरोन्नती हुने र नेपालीको आम्दानी बढेको भन्दै विकास साझेदार विश्व बैंकले ब्याज दोब्बर बढाएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिद दर १४६ रुपैयाँ ४२ पैसा र बिक्री दर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बुधबार खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यसअघि गत पुस २ ९डिसेम्बर १७० मा खरिद दर १४५ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९५ पैसासम्म पुगेको थियो । त्यसपछि केही घट्न खोजेको डलरको सटही दर फेरी बढेको उच्चता कायम गरेको हो ।

नेरुको भारतीय रुपैयाँ (भारु) सँग स्थिर विनिमय दर (फिक्सड पेग) छ । भारुसँग स्थिर विनियमदर कायम भएकाले डलरसँग नेरु कमजोर हुन गएको हो। डलरसँग नेरु कमजोर हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ । भारुमा आउने उतारचढावले नेपालमा डलरको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ ।

विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ । अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ । सुनको भाउले पनि दिनहु नयाँ रेकर्ड कायम गरेको छ । डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ ।

यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ। विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ। डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउछन् ।

यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ । डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ। आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ । अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ । यता नेपाल विकासशील मुलुकमा स्तरोन्नती हुने र नेपालीको आम्दानी बढेको भन्दै विकास साझेदार विश्व बैंकले ब्याज दोब्बर बढाएको छ । आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिन्छ । विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ। गत वर्ष ३३ अर्ब रुपैयाँ बढी लाभांशको रुपमा विदेसिएको छ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने गरेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १९२ रुपैयाँ २१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ११ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५८ पैसा तोकिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३ पैसा र बिक्रीदर २१ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५ पैसा र बिक्रीदर ३९ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ७ पैसा र बिक्रीदर १६ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४७९ रुपैयाँ २० पैसा र बिक्रीदर ४८१ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ८९ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।