पर्सा अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा गत असार १ मा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो ।

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ ।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा गत असार १ मा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो ।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग १ करोड धरौटी माग गरेको हो । उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ । रवि अदालतमा हाजिर भएर चितवन २ मा मनोनयनमा जाने तयारीमा थिए ।

रविविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालत, कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालत, साहारा चितवन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत चितवन र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा मुद्धा छन् । सबै मुद्धामा सम्वन्धित अदालतले धरौटीमा रविलाई छोडेको थियो । तर, उच्च अदालतले बुटवलले जिल्ला अदालतको आदेशविपरित पुर्पक्षमा लागि थुनामै राख्नुपर्ने आदेश जारी गरेसँगै रवि केही समय जेल बसेका थिए ।