आजदेखि निर्वाचन आचारसंहिता लागू, कस्तो छ आचारसंहिता ?

आगामी २१ फागुनमा हुने आमनिर्वाचनका लागि सोमबार अर्थात आजदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । आचारसंहिता लागू गर्ने तयारीबारे निर्वाचन आयोगले आइतबार सरकारलाई जानकारी गराएको हो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी निर्वाचन सफल बनाउनु आयोग, सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सरोकारवाला सबैको साझा दायित्व भएको बताए ।

काठमाडौं । आगामी २१ फागुनमा हुने आमनिर्वाचनका लागि सोमबार अर्थात आजदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । आचारसंहिता लागू गर्ने तयारीबारे निर्वाचन आयोगले आइतबार सरकारलाई जानकारी गराएको हो । आइतबार नै आयोग बैठकले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसँग भएको छलफलमा आयोगले आचारसंहिताबारे प्रस्तुतीकरण गरेको थियो ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूको टोलीले आचारसंहिताका मुख्य विशेषताबारे प्रकाश पारेका थिए । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी निर्वाचन सफल बनाउनु आयोग, सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सरोकारवाला सबैको साझा दायित्व भएको बताए । 

कस्तो छ आचारसंहिता ?

आचारसंहिताअनुसार कुनै पनि व्यक्ति, दल वा उम्मेदवारले पक्ष वा विपक्षमा स्रोत–साधन र सम्पत्ति प्रयोग गर्न पाउने छैनन् । निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यमा अवरोध गर्न, सरकारी तथा सार्वजनिक संस्था र विद्यालय क्षेत्रभित्र निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न निषेध गरिएको छ । यसैगरी, दल वा उम्मेदवारको चुनावचिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, गम्छा, मास्क, लकेट, लोगो, झोला, ब्याज, ट्याटुजस्ता सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ । स्वीकृति नलिई निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचार गर्न पनि निषेध छ ।

चरित्र हत्या हुने गरी प्रचार गर्न, बालबालिकालाई निर्वाचन प्रचारमा प्रयोग गर्न, निषेधित समय र स्थानमा जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइनेछैन । सार्वजनिक यातायात अवरुद्ध हुने गरी जुलुस वा सभा गर्नसमेत रोक लगाइएको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न, झुटा खाता वा वेबसाइट सञ्चालन गर्न, होच्याउने, दुष्प्रचार गर्ने, अपमानजनक तथा द्वेषपूर्ण ९हेट स्पिच० टिप्पणी गर्न निषेध गरिएको छ ।

यसैगरी, उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न वा मतपरिणाम सार्वजनिक गर्न नपाइने व्यवस्था छ । मतदाताको गोप्यता भंग गर्न, मतदानमा खटिएका कर्मचारीलाई हतोत्साहित गर्न वा निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्ने कुनै पनि गतिविधि गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

चुनावमा प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर र प्रतिक्रिया दिन नहुने भनिएको छ । यसैगरी, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्न नहुने, मतदाता र मतदानमा खटिएका कर्मचारीसँग वादविवाद तथा हतोत्साहित गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पार्न नहुने उल्लेख छ ।