अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा नदिने, जनवरी २१ देखि लागू
अमेरिकी सरकारमाथि आर्थिक भार बन्न सक्ने सम्भावित आप्रवासीका भिसा स्थगित गरिएको छ ।दक्षिण एसियाली मुलुकहरुबाट नेपालसहित भुटान, अफगानिस्तान, बंगलादेश र पाकिस्तान परेका छन् ।
काठमाडौँ । अमेरिकाले ७५ देशका नागरिकलाई आप्रबासी भिसा बन्द गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो । दक्षिण एसियाली मुलुकहरुबाट नेपालसहित भुटान, अफगानिस्तान, बंगलादेश र पाकिस्तान परेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशअनुरूप आप्रवासी भिसा स्थगित गर्ने निर्णय परेको हो । विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित देशहरूबाट आउने आप्रवासी भिसा आवेदनहरू रोक्न निर्देशन दिएको छ । अमेरिकी सरकारमाथि आर्थिक भार बन्न सक्ने सम्भावित आप्रवासीका भिसा स्थगित गरिएको अमेरिकाको भनाई छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि ४० देशहरूमा अध्यागमन र यात्रा प्रतिबन्ध लगाएको थियो र भिसा रोक्ने निर्णय त्यसैको निरन्तरता भएको बताइएको छ ।
अमेरिकी मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्दैछ । यी ७५ देशका आप्रवासी भिसा प्रक्रिया तबसम्म रोकिनेछ जबसम्म विदेश मन्त्रालयले विदेशी नागरिकहरूको प्रवेश रोक्न अध्यागमन प्रक्रियाको पुन: मूल्याङ्कन गर्दैन ।’
आगामी जनवरी २१ देखि सुरु हुने यो स्थगन गैर-आप्रवासी भिसा (पर्यटक वा व्यापारिक भिसा) खोज्नेहरूका लागि भने लागू हुने छैन । आगामी २०२६ को विश्वकप र २०२८ को ओलम्पिक अमेरिकाले आयोजना वा सह-आयोजना गर्ने भएकाले आगामी महिना र वर्षहरूमा गैर-आप्रवासी भिसाको माग नाटकीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
यस्तो छ ७५ देशहरुको सूचीः
१. अफगानिस्तान, २.अल्बानिया, ३.अल्जेरिया, ४.एन्टिगुवा र बारबुडा, ५.अर्मेनिया, ६.अजरबैजान, ७. बहामास, ८. बंगलादेश, ९. बार्बाडोस, १०. बेलारुस, ११. बेलिज, १२. भुटान, १३. बोस्निया, १४. ब्राजिल, १५. बर्मा (म्यानमार), १६. कम्बोडिया, १७. क्यामरुन, १८. केप भर्डे, १९. कोलम्बिया, २०. कंगो, २१. क्युबा, २२. डोमिनिका, २३. इजिप्ट, २४. एरिट्रिया, २५. इथियोपिया, २६. फिजी, २७. गाम्बिया, २८. जर्जिया, २९. घाना, ३०. ग्रेनाडा, ३१. ग्वाटेमाला, ३२. गिनी, ३३. हाइटी, ३४. इरान, ३५. इराक, ३६. आइभोरी कोस्ट, ३७. जमैका, ३८. जोर्डन, ३९. काजाकिस्तान, ४०. कोसोभो, ४१. कुवेत, ४२. किर्गिस्तान, ४३. लाओस, ४४. लेबनान, ४५. लाइबेरिया, ४६. लिबिया, ४७. म्यासेडोनिया, ४८. मोल्डोभा, ४९. मंगोलिया, ५०. मोन्टेनेग्रो, ५१. मोरक्को, ५२. नेपाल, ५३. निकारागुआ, ५४. नाइजेरिया, ५५. पाकिस्तान, ५६. गणतन्त्र कंगो, ५७. रुस, ५८. रुवाण्डा, ५९. सेन्ट किट्स र नेभिस, ६०. सेन्ट लुसिया, ६१. सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स, ६२. सेनेगल, ६३. सियरा लियोन, ६४. सोमालिया, ६५. दक्षिण सुडान, ६६. सुडान, ६७. सिरिया, ६८. तान्जानिया, ६९. थाइल्याण्ड, ७०. टोगो, ७१. ट्युनिसिया, ७२. युगान्डा, ७३. उरुग्वे, ७४. उज्वेकिस्तान र ७५. यमन