कांग्रेस फुटको नजिक: विशेष महाधिवेशनमा सभापति उम्मेदवारको शुल्क ३० हजार, अरु पदको कति ?
राति ९ बजेदेखि मतदान
संस्थापन पक्षसँग चर्को बार्गेनिडमा रहेको विशेष महाधिवेशन पक्षधरले नेतृत्वलाई दबाबमा राख्न निर्वाचन कार्यतालिका प्रस्तुत गरेको छ । मध्यान्ह एक चरण वार्तामा बसिसकेका दुबै समूहबीच साँझसम्म सहमति नभए निर्वाचन प्रक्रिया अघि बढ्ने र कांग्रेस औपचारिक रुपमा विभाजित हुने सम्भावना बढेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ ।
त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुक्ल बुझाउनुपर्छ । सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने छ ।
संस्थापन पक्षसँग चर्को बार्गेनिडमा रहेको विशेष महाधिवेशन पक्षधरले नेतृत्वलाई दबाबमा राख्न निर्वाचन कार्यतालिका प्रस्तुत गरेको छ । मध्यान्ह एक चरण वार्तामा बसिसकेका दुबै समूहबीच साँझसम्म सहमति नभए निर्वाचन प्रक्रिया अघि बढ्ने र कांग्रेस औपचारिक रुपमा विभाजित हुने सम्भावना बढेको छ ।
विशेष महाधिवेशन पक्षधरले आगामी चुनावमा ४० प्रतिशत टिकट (१६५ निर्वाचन क्षेत्रमा ६६), टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर हटाउने र महामन्त्री गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जाने प्रस्ताव पठाएको छ । तर, संस्थापन पक्षले त्यसलाई अस्वीकार गरेको छ । जसले गर्दा पार्टी विभाजन हुने खतरा बढेको छ । यद्यपी विशेष महाधिवेशनको पक्षमा खुलेका नेताद्वय डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मालगायतका केही प्रतिनिधिहरु भने नेतृत्व चयनको प्रक्रियाबाट अलग भएका छन् ।
संयोजक केसीका अनुसार राति ९ बजेदेखि मतदान हुनेछ । कार्यतालिकामा साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गर्ने, साढे १ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध कायम रहने, ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र राति पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।
त्यस्तै समितिले मतदाताको नामावली पनि सार्वजनिक गरेको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७ सय ४३ हो । यीमध्ये पार्टी परित्याग गर्ने ६१ जना र मृत्यु भएका महाधिवेशन प्रतिनिधिको संख्या ४४ छ । समितिका अनुसार अहिले जम्मा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ६ सय ३८ रहेको छ ।