भारतको हिमाञ्चल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा रोजगारीमा गएका २ परिवारका ९ नेपालीको मृत्यु
भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विस्फोटपछिको आगलागी घटनामा ९ नेपालीको मृत्यु भएको छ। ज्यान गुमाउनेहरुमा नेपालको सल्यानस्थित सिद्ध कुमाल गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । सिद्धकुमाख गाउँपालिका–२ टाकुराका २ परिवारहरू करिब दुई वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए ।
काठमाडौं । भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विस्फोटपछिको आगलागी घटनामा ९ नेपालीको मृत्यु भएको छ । ज्यान गुमाउनेहरुमा नेपालको सल्यानस्थित सिद्ध कुमाल गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । सिद्धकुमाख गाउँपालिका–२ टाकुराका २ परिवारहरू करिब दुई वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए ।
आइतबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएपछि आगलागी भएको थियो । मृत्युु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, दुई छोरी राधा (१६) र रेणुका (१०) तथा २२ महिनाका छोरा राजन विकको मृत्यु भएको छ। यस्तै, सोही गाउँका काशीराम विक (४६), उनकी श्रीमती टीका विक (३२), छोरी अनु (११) र छोरा किरण (७) को पनि ज्यान गएको छ ।
विस्फोटपछि आगलागी फैलिँदा शवहरू क्षतविक्षत भएका थिए । हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकीको खोजी कार्य जारी छ । घटनास्थलमा भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा अनुसन्धान गरिरहेका छन् ।