नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन, साधारणसभाबाट १२.५० प्रतिशत नगद लाभांश पारित
निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । पौडैल नेतृत्वमा विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)का साथै मर्जर सफल बनाउन महत्वपूर्ण भूमिका निभाएको बैंकको भनाइ छ ।
काठमाडौं । नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा सञ्चालक निर्वाणकुमार चौधरी चयन भएका छन् । बैंकको सञ्चालक समितिको ६९९औँ बैठकले चौधरीलाई अध्यक्षमा चयन गरेपनि नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण पश्चात मात्रै कार्यभार सम्हाल्नेछन् ।
यसअघि बैंकको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको थियो । सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीका लागि प्रस्तावित लाभांश पारित गरेको हो ।
साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालकमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ । शाह यसअघि बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका व्यक्ति हुन् ।
यसैसाथ, निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । पौडैल नेतृत्वमा विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)का साथै मर्जर सफल बनाउन महत्वपूर्ण भूमिका निभाएको बैंकको भनाइ छ ।
नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटीएम सेवा प्रदान गर्दै आएको छ । नबिलले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।