वित्तिय क्षेत्रविकास रणनीति सहित यी हुन् मन्त्रिपरिषद्ले गरेका ६ निर्णय
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासकेन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
काठमाडौं । सरकारले वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गरेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले ४ वर्षे वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गरेको हो ।
त्यसैगरि मन्त्रिपरिषदले राष्ट्रिय सभाको अधिवेशन आगामी माघ ४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद (अखण्ड) भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
यस्ता छन् निर्णयहरू :
– अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासकेन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने ।
– वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने ।
– २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने ।
– मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने ।
– गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्द प्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने ।
– संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।