इरानको प्रदर्शनमा २०० बढीको मृत्यू, खामेनी र ट्रम्पबीच भईरहेको आरोपप्रत्यारोपले थप हिंसा भड्किने भय

इरान केही समयदेखी इजरायलसँगको संघर्ष, अन्तर्राष्ट्रिय प्रतिबन्ध, खस्कँदो अर्थतन्त्र, बिजुली र पानीको अभावजस्ता समस्यासँग जुधिरहेको छ र सरकारभित्र मतभेद बढिरहेको छ ।

काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जना मारिएका छन् । ८ डिसेम्बर २०२५ बाट सुरु भएको हिंसात्मक प्रदर्शन इरानका १०० बढी शहरमा फैलिएको छ ।

देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकार विरोधी प्रदर्शन सुरु भएसँगै सरकारले लगानी इन्टरनेट र फोन सेवा प्रतिवन्दले आन्दोलन थप हिंसात्मक बन्न थालेको बताइएको छ । इरान केही समयदेखी इजरायलसँगको संघर्ष, अन्तर्राष्ट्रिय प्रतिबन्ध, खस्कँदो अर्थतन्त्र, बिजुली र पानीको अभावजस्ता समस्यासँग जुधिरहेको छ र सरकारभित्र मतभेद बढिरहेको छ । त्यसैको जगमा विपक्षीहरु सडक संघर्षमा जोडिइरहेका छन् । देशभरका जेनजी आक्रोशित छन् । 

टाइम म्यागजिनले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै राजधानीका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता गरिएको र अधिकांशको मृत्यु गोलीबाट भएको बताइएको छ । उता, बीबीसीले पनि शुक्रबार राति रश्त शहरको एउटा अस्पतालमा ७० जनाको शव ल्याएको जनाएको छ ।।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, इरानमा सरकार विरोधी प्रदर्शनहरू थप हिंसात्मक र व्यापक बनिरहेका छन् ।

सरकारी अधिकारीहरूले भने प्रदर्शनकारीहरूलाई ‘ईश्वर विरुद्धको अपराधी’ करार गर्दै अपराधको सजाय मृत्युदण्ड मात्र हुने भन्दै लगातार गोलाबारी गरिरहेको बताईन्छ ।

इरानी सरकारले प्रदर्शकारीलाई चरम दमन गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारी मारिएमा इरानी सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । 

केही प्रदर्शनकारीहरूले पूर्व राजाका छोरा रजा पहलवीको समर्थनमा नारा लगाउँदै आन्दोलनलाई थप हिंसात्मक बनाउन भूमिका खेलेको बताइन्छ । मुलुकमा हिंसात्मक आन्दोलन चर्किएका बेला करिब ५० वर्षदेखि अमेरिकामा निर्वासित जीवन तिाइरहेका६५ वर्षीय पहलवीले प्रदर्शनलाई तीव्र बनाउन अपिल गरेका छन् । इरानका क्राउन प्रिन्स पहलवीले आफू देश फर्केर चलिरहेको प्रदर्शनमा सहभागी हुने घोषणा पनि गरेका छन् । शनिबार बिहान पहलवीले आफू देश फर्कने तयारीमा रहेको बताएका छन् । सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा पहलवीले लेखेका छन्, ‘म पनि आफ्नो देश फर्कने तयारी गर्दैछु ताकि हाम्रो राष्ट्रिय क्रान्तिको जितको समयमा म तपाईँहरू सबैका साथ, इरानको महान जनताको बीचमा खडा हुन सकूँ । मलाई पूर्ण विश्वास छ कि त्यो दिन अब धेरै नजिक छ।’

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिपछि अयातोल्ला रुहोल्लाह खुमेनी सत्तामा आएर सन् १९८९ सम्म १० वर्ष सर्वोच्च नेताका रुपमा रहे । त्यसपछि अयातोल्ला अली खोमेनी ३७ वर्षदेखि सत्तामा छन् । 

इरान आज आर्थिक संकट, चरम महँगी, अन्तर्राष्ट्रिय प्रतिबन्ध, बेरोजगारी र लगातारका जनआन्दोलनजस्ता गम्भीर चुनौतीहरूसँग जुधिरहेको छ । ४७ वर्षपछि वर्तमान आर्थिक बदहाली र कडा धार्मिक शासनबाट दिक्क भएका मानिसहरू परिवर्तनका पक्षमा उभिएका कारण इरानमा थप आन्दोलन चर्किने प्रक्षेपणहरु भईरहेका छन् । यस्तैमा इरानका सर्वोच्च नेता अली खामेनीले शुक्रबार पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्दै इरानले ‘विदेशीका लागि काम गर्ने भाडाका मानिसहरू’ लाई सहन नसक्ने बताएका छन् । उनले सम्बोधनमा भनेका छन्, 'प्रदर्शनको पछाडि विदेशी एजेन्टहरू रहेको र उनीहरूले देशमा हिंसा भड्काएका छन् । देशमा रहेका सार्वजनिक सम्पत्तिलाई नोक्सान पुर्‍याएर अमेरिकी राष्ट्रपतिलाई खुसी पार्न चाहने केही उपद्रवीहरूले आतंक मच्चाइरहेका छन् ।'

(एजेन्सीहरूको सहयोगमा)