कात्तिकमा भन्दा मंसीरमा महंगी दर बढ्यो, कुन क्षेत्रमा कति ?
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ । तर, तरकारी उप–समूहको सूचकाङ्क ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ ।
काठमाडौं । कात्तिक महिनाको तुलनामा मंसिरमा मूल्य वृद्धि बढेको छ । कात्तिक महिनामा १.११ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति मंसिर महिनामा बढेर १.६३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष मंसिरमा ६.०५ प्रतिशत मुद्रास्फीति थियो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत छ । अघिल्लो वर्ष को सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.८९ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ । तर, तरकारी उप–समूहको सूचकाङ्क ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशतले बढेको छ । यस्तै, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले मूल्य बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क भने ०.२३ प्रतिशतले घटेको छ ।
क्षेत्रगत रूपमा समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.०९ प्रतिशत र सहरी क्षेत्रको १.८३ प्रतिशतले बढेको छ । प्रदेशगत विवरण अनुसार कोसी प्रदेशमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.५४ प्रतिशत, मधेसमा २.०१ प्रतिशत, बागमतीमा १.४८ प्रतिशत, गण्डकीमा १.०८ प्रतिशत, लुम्बिनीमा १.६७ प्रतिशत, कर्णालीमा १.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.४० प्रतिशत छ । भौगोलिक क्षेत्रका आधारमा काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.९५ प्रतिशत, तराईमा १.७१ प्रतिशत, पहाडमा १.३६ प्रतिशत र हिमाली क्षेत्रमा १.४७ प्रतिशत छ ।
यसैगरी, २०८२ मंसिरमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा थोक मुद्रास्फीति ६.५२ प्रतिशत थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.४१ प्रतिशत छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत र २.०९ प्रतिशत छ । सोही अवधिमा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ४.५२ प्रतिशतले बढेको छ ।
