सरकारको ढुकुटीमा ३२०१ अर्ब सञ्चिति, २२ महिनाको आयात धान्न सक्ने
बैंक तथा वित्तीय संस्थासँग असारमा २६३ अर्ब ४ करोड रुपैयाँ रहेको सञ्चिति मङ्सिरमा २७.४ प्रतिशतले वृद्धि भई ३३५ अर्ब रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत छ ।
काठमाडौं । रेमिट्यान्स बढ्दा विदेशी मुद्रा सञ्चिति मजबुत बनेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामै नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेर ३२०१ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । सरकारसँग रहेको विदेशी मुद्रा सञ्चितिले करिब २२ महिनासम्म वस्तु आयात धान्न सक्ने क्षमता राख्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असारमा २६७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ मङ्सिरसम्म आइपुग्दा १९.६ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा गणना गर्दा विदेशी विनिमय सञ्चिति २०८२ असारमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेकोमा २०८२ मङ्सिरमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड अमेरिकी डलर पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग सबैभन्दा ठूलो हिस्सा छ । राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असारको २४१४ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २०८२ मङ्सिरमा १८.७ प्रतिशतले वृद्धि भई २८६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ । बैंक तथा वित्तीय संस्थासँग असारमा २६३ अर्ब ४ करोड रुपैयाँ रहेको सञ्चिति मङ्सिरमा २७.४ प्रतिशतले वृद्धि भई ३३५ अर्ब रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत छ ।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.७ महिनाको वस्तु आयात तथा १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ । त्यसैगरी, २०८२ मङ्सिरमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५२.४ प्रतिशत, कुल आयातसँगको अनुपात १५१.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३९.४ प्रतिशत छ । असारमा यी अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२.१ प्रतिशत र ३४.१ प्रतिशत थिए ।