अत्यधिक दुर्घटना हुने २९ ठाउँ, ट्राफिकले ‘ब्ल्याक स्पट’ भनेका क्षेत्र कुन कुन हुन् ?

विज्ञापन
ncell

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले अत्यधिक दुर्घटना हुने उपत्यकाका ठाउँहरूको सूचीमा कोटेश्वर, सातदोबाटो, भक्तपुर, जावलाखेल, काँडाघारी, कलंकी, महाराजगञ्ज, नयाँ बसपार्क, बल्खु, गौशाला, स्वयम्भू, सानेपा, सिंहदरबार, गट्टठाघर, बौद्ध परेका छन् ।

काठमाडौं । काठमाडौं उपत्यकामा अत्यधिक दुर्घटना हुने २९ ठाउँहरूहरुलाई ट्राफिक प्रहरीले पहिचान गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले अत्यधिक दुर्घटना हुने उपत्यकाका ठाउँहरूको सूचीमा कोटेश्वर, सातदोबाटो, भक्तपुर, जावलाखेल, काँडाघारी, कलंकी, महाराजगञ्ज, नयाँ बसपार्क, बल्खु, गौशाला, स्वयम्भू, सानेपा, सिंहदरबार, गट्टठाघर, बौद्ध परेका छन् ।

काठमाडौं उपत्यकामा अत्यधिक दुर्घटना हुने ठाउँहरूको पहिचान गरेर दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्रभावकारी काम गर्ने योजनासमेत ल्याएको छ ।

पछिल्ला वर्षहरूमा हुने दुर्घटनाको दरलाई आधार मानेर त्यस्ता ठाउँहरूलाई ‘ब्ल्याक स्पट’को रुपमा लिँदै दुर्घटना न्यूनीकरणका लागि प्राथमिकतामा राखेर काम गर्न लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बताए । ट्राफिकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ कोटेश्वर–बालकुमारीमा २९ दुर्घटना भएका थिए । काटेश्वर जडिबुटीमा ३१, कोटेश्वर–गौरीगाउँमा २३, मनिभैरव बानेश्वरमा २६ दुर्घटना भएको ट्राफिकको तथ्यांक छ ।

त्यसैगरी सातदोबाटो अन्तर्गतमा ग्वार्को–सातदोबाटोमा १७, सातदोबाटो–हात्तिवनमा १६, सातदोबाटो एकान्तकुनामा १९ दुर्घटना भएको ट्राफिकको तथ्यांक छ । यता भक्तपुरको सल्लाघारी–जगातीमा १९, सल्लाघारी–चारदोबाटोमा २३, जगाती साँगामा १४ वटा दुर्घटना एक आर्थिक वर्षमा भएका छन् । जावलाखोल अन्तर्गतको एकान्तकुना–नख्खुमा २४ दुर्घटना भएको पाइएको छ । काँडाघारी अन्तर्गत पेप्सीकोला र छाप्रोमा २१ दुर्घटना भएका छन् । कलंकी अन्तर्गत कलंकी–एमालेको पूरानो पार्टी कार्यालयमा २२, कलंकी–ढुंगे अड्डामा १७, कलंकी–मकालु पेट्रोल पम्पमा २० दुर्घटना भएका छन् ।

महाराजगञ्ज अन्तर्गत नारायणगोपाल चोक–बसुन्धारामा २१, नारायणगोपाल चोक–धुम्बाराहीमा १३ दुर्घटना भएका छन् । नयाँ बसपार्क अन्तर्गत माछापोखरी–सामाखुसीमा १५ र माछापोखरी–बालाजुमा ११ दुर्घटना भएको ट्राफिक प्रहरीले बताएको छ । बल्खु अन्तर्गत सानेपा पुल–एमाले पार्टी कार्यालयमा १४ दुर्घटना भएका छन् । गौशाला अन्तर्गत मित्रपार्क–चाबहिलमा १५ दुर्घटना भएका छन् । स्वयम्भू अन्तर्गत हल्चोक–बनस्थलीमा १३, हल्चोक–मकालु पेट्रोल पम्पमा ११ दुर्घटना भएका छन् ।

सानेपा अन्तर्गत धोबिघाट–सानेपा पुलमा १८ दुर्घटना भएको ट्राफिकको तथ्यांक छ । सिंहदरबार अन्तर्गत माइतीघर–बिजुलीबजार पुलमा २० दुर्घटना भएका छन् । गट्ठाघर अन्तर्गत गट्ठाघर–लोकन्थलीमा २२, चारदोबाटो–लोकन्थलीमा २३, कौशलटार चोकमा १८ दुर्घटना भएका छन् । बौद्ध अन्तर्गत बौद्ध गेट– लामा पम्पमा २९ दुर्घटना एक आर्थिक वर्षमा भएका छन् ।

उपत्यकाका अन्य ठाउँहरूमा पनि फाट्टफुट्ट दुर्घटना हुने गरे पनि माथि उल्लेखित ठाउँहरूमा भने अत्यधिक दुर्घटना हुने गरेको पछिल्लो डाटाहरू देखाएको रामशाहपथका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए । चालु आर्थिक वर्षको डाटाको विश्लेषण गर्दा पनि यी ठाउँहरूमा अत्याधिक दुर्घटना भएको ट्राफिकले बताएको छ ।

दुर्घटना न्यूनीकरणका लागि भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सप्ताह–२०८२ सुरू गरेको छ । एक हप्तासम्म अर्थात् २ माघमा समापन गर्नेगरी ट्राफिक सप्ताह सुरु गरिएको छ ।