४३ जिल्लामा औसतभन्दा धेरै गरिबी, जिल्ला र स्थानीय तह अनुसार गरिबीको वितरणमा ठूलो असमानता

स्थानीय तहमा गरिबीको दर १.१८ प्रतिशत देखि ७७.८९ प्रतिशतसम्म छ । जिल्ला तहमा गरिबीको दर न्यूनतम ५.६३ प्रतिशत देखि अधिकतम ४९.५८ प्रतिशतसम्म छ ।

काठमाडौं । नेपालमा जिल्ला र स्थानीय तह अनुसार गरिबीको वितरणमा ठूलो असमानता रहेको पाईएको छ । 

शुक्रबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान २०८१’ अनुसार स्थानीय तहमा गरिबीको दर १.१८ प्रतिशत देखि ७७.८९ प्रतिशतसम्म छ । जिल्ला तहको गरिबीको दर करिब ५० प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्ला तहमा गरिबीको दर न्यूनतम ५.६३ प्रतिशत देखि अधिकतम ४९.५८ प्रतिशतसम्म छ ।

नेपालका ३४ वटा जिल्लामा गरिबीको दर राष्ट्रिय औसतभन्दा कम छ भने ४३ वटा जिल्लामा गरिबीको दर राष्ट्रिय अनुमानभन्दा धेरै छ । त्यस्तै, ७५३ स्थानीय तहमध्ये ३०९ वटा स्थानीय तहमा गरिबीको दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम छ भने ४४४ वटा स्थानीय बढी छ ।