आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पाल्पा सिमेन्टको आइपीओ खुल्यो

उद्योग प्रभावित स्थानीयका लागि आइपीओमा आवेदन दिने अवधि माघ १० गते र ढिलोमा माघ २५ गतेसम्म खुला रहने बिक्री प्रबन्धकले जनाएको छ । देशिक रोजगारीमा गएकालाई कम्पनीले ५ करोड ६२ लाख ५० हजार रुपैयाँको ५ लाख ६२ हजार ५०० कित्ता सेयर छुट्याएको छ । उनीहरुले पुस ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिजले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) निष्कासन गरेको छ ।

कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी) र खानी रहेको क्षेत्र पाल्पाका स्थानीयलाई १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर छुट्याएको छ ।

उद्योग प्रभावित स्थानीयका लागि आइपीओमा आवेदन दिने अवधि माघ १० गते र ढिलोमा माघ २५ गतेसम्म खुला रहने बिक्री प्रबन्धकले जनाएको छ । देशिक रोजगारीमा गएकालाई कम्पनीले ५ करोड ६२ लाख ५० हजार रुपैयाँको ५ लाख ६२ हजार ५०० कित्ता सेयर छुट्याएको छ । उनीहरुले पुस ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई ५६ लाख २५ हजार कित्ता सेयर बिक्री गर्नेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ५ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमति पाएको थियो । पाल्पा सिमेन्टले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन डबलबी प्लस दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रति सेयर आम्दानी ३.२५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३५.७४ रुपैयाँ छ । पाल्पा सिमेन्टमा आरएमसी ग्रुपको लगानी छ । कम्पनीका अध्यक्ष राजेश कुमार अग्रवाल हुन् । कम्पनीका उनको सेयर ३६.१२ प्रतिशत छ । त्यस्तै, विष्णु कुमार अग्रवालको पनि ३६.१२ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरिरहेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ छ ।