बुद्ध एयरको जहाज दुर्घटनाको छानबिन गर्न समिति गठन, वरिष्ठ क्याप्टेन विनोद पुरीले पाए जिम्मेवारी
छानबिनका लागि पुरीलाई ४५ दिनको समय दिइएको छ । पुस १८ गते राति काठमाडौंबाट भद्रपुर गएको जहाज विमानस्थलमा ओभर रन भइ धावनमार्गबाट १५० मिटर पर खोल्सामा पुगेको थियो ।
काठमाडौं । सरकारले बुद्ध एयरको ९एन एमएफ कलसाइनको जहाज दुर्घटना सम्बन्धमा छानबिनको जिम्मा वरिष्ठ क्याप्टेन विनोद पुरीलाई दिएको छ ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको प्रस्तावमा पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले जहाज दुर्घटना छानबिनको जिम्मा वरिष्ठ क्याप्टेन पुरीलाई दिने निर्णय गरकेो हो ।
मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी पुरीलाई अनुसन्धानकर्ता तोकिएको जनाएको छ । अनुसन्धानका लागि पुरीलाई मन्त्रालयले आवश्यक कर्मचारी उपलब्ध गराउनेछ । छानबिनका लागि उनलाई ४५ दिनको समय दिइएको छ ।
पुस १८ गते राति काठमाडौंबाट भद्रपुर गएको जहाज विमानस्थलमा ओभर रन भइ धावनमार्गबाट १५० मिटर पर खोल्सामा पुगेको थियो । जहाजमा चालक दलका चार सदस्यसहित ५५ जना सवार थिए ।