जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका सवारीले कर छुट पाउने
जेनजी आन्दोलनका क्रममा आगजनी वा तोडफोड भई पूर्ण रूपमा क्षति भएका सरकारी, निजी, पर्यटकीय तथा सार्वजनिक सवारी साधनको लगत कट्टा गर्न चाहेमा चालु आर्थिक वर्ष २०८२/८३ को सवारी साधन कर र नवीकरण दस्तुरमा शतप्रतिशत छुट पाउने छन् ।
काठमाडौं । जेनजी आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनको बेला क्षति पुगेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्को गत पुस १६ गतेको निर्णयलाई प्रदेशले राजपत्रमा प्रकाशन गर्दै कर छुट दिने निर्णयलाई मान्यता दिएको हो ।
जेनजी आन्दोलनका क्रममा आगजनी वा तोडफोड भई पूर्ण रूपमा क्षति भएका सरकारी, निजी, पर्यटकीय तथा सार्वजनिक सवारी साधनको लगत कट्टा गर्न चाहेमा चालु आर्थिक वर्ष २०८२/८३ को सवारी साधन कर र नवीकरण दस्तुरमा शतप्रतिशत छुट पाउने छन् ।
सार्वजनिक सवारी साधनको हकमा भने थप सहुलियत दिँदै सवारी कर र नवीकरण दस्तुरका साथै जाँच पास र बाटो इजाजत पत्र, नवीकरण दस्तुर समेत मिनाहा गरिएको छ । प्रदेश सरकारले दिएको सुविधा लिन सवारी धनीले प्रहरी मुचुल्कासहित पूर्ण क्षति भएको पुष्ट्याइँ गर्ने कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरि, जेनजी आन्दोलनका कारण यातायात कार्यालयको सेवा अवरुद्ध भएको अवधिमा राजस्व तिर्ने अन्तिम म्याद परेका सवारी साधनले आगामी माघ मसान्तसम्म दस्तुर बुझाउन आएमा बाटो इजाजत पत्र र जाँच पास नवीकरणमा लाग्ने जरिवाना तथा थप जरिवाना छुट पाउने छन् ।