काठमाडौंको तापक्रम वर्षकै कम, तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरो कायमै
आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो यस वर्षको हालसम्मकै कम तापक्रम हो । आइतबार ४, सोमबार ३.५ र मंगलबार बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस मापन भएको हो ।
काठमाडौं । काठमाडौंको हकमा हिजोको तुलनामा आज झन् जाडो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो यस वर्षको हालसम्मकै कम तापक्रम हो ।
केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो क्रममा छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो । आइतबार ४, सोमबार ३.५ र मंगलबार बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस मापन भएको हो ।
आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहनुको साथै तराई भूभागमा हुस्सु तथा कुहिरोको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।